एआईजीपीद्वय राई र ढकालबीच एसपी-डीएसपी सरुवामा मतभेद

एआईजीपीद्वय राई र ढकालबीच एसपी-डीएसपी सरुवामा मतभेद


काठमाण्डु – नेपाल प्रहरीका कार्यवाहक महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राई र प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालबीच मंगलबार साँझ भएको प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) सरुवाले मतभेद निम्त्याएको छ ।

सरुवा गर्ने, नगर्ने विषयमा कार्यवाहक महानिरीक्षक राई र मानव स्रोत विभागका प्रमुख ढकालबीच मतभेद चुलिएपछि ग्रीसमा रहेका महानिरीक्षक बसन्तबहादु्र कुँवरलाई ह्वाट्सअपमा कुराकानी गरेर मिलाउनु परेको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक प्रहरी अधिकृतले जानकारी दिए ।

प्रहरी मुख्यालयले मंगलबार ४१ एसपी र १४३ डीएसपीको काज तथा सरुवाको सूची सार्वजनिक गर्ने, नगर्ने भन्ने विषयमा दुई एआईजीपीबीच कुरा नमिलेको प्रहरी स्रोत बताउँछ ।

मानव स्रोत विभाग प्रमुख ढकालले काज र सरुवा गर्ने एसपी र डिएसपीको सूची तयार गरी सार्वजनिक गर्ने बेलामा मात्रै कार्यवाहक महानिरीक्षक राईलाई जानकारी गराएका थिए । त्यसपछि राईले प्रहरी प्रमुख देश बाहिर रहेको बेलामा सरुवा गर्दा नराम्रो सन्देश जाने भन्दै सरुवा नगर्न भनेका थिए । तर, ढकालले निर्णय भइसकेकाले सार्वजनिक गर्ने अड्डी कसे । दुवै आ–आफ्ना अडानमा अडिक रहेपछि महानिरीक्षक कुँवरलाई ह्वाट्सपमा फोन गरेर साम्य पारिएको प्रहरी मुख्यालय स्रोतले जानकारी दियो ।

महानिरीक्षक कुँवरले सरुवाको निर्णय पहिला नै भइसकेकाले सार्वजनिक गर्दा फरक नपर्ने बताउँदै ढकालको पक्षमा बोलेपछि राईले गलत सन्देश जानेबारे सचेत गराएको निकट स्रोतले बतायो । तर, ढकालले राईको सुझावलाई बेवास्ता गर्दै सूची सार्वजनिक गरेपछि मतभेद चुलिएको स्रोतले बतायो ।

राईको सरुवाबारे पहिला आफूलाई कुनै जानकारी नगराइएकोमा असन्तुष्टि रहेको निकटवर्तीहरू बताउँछन् । प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षकलाई हुन्छ ।