चट्याङ लागेर ३ जनाको मृत्यु, ३ जना घाइते

चट्याङ लागेर ३ जनाको मृत्यु, ३ जना घाइते


काठमाण्डु– दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उनकी छ वर्षीया छोरी सविना साहु घाइते भएकामा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो ।

चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् ।रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ ।