गोरखा मिडियामा साढे ३ करोड लगानी गरेको साहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा दायर

गोरखा मिडियामा साढे ३ करोड लगानी गरेको साहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा दायर


काठमाण्डु – विभिन्न सहकारीबाट अवैध तरिकाले रकम लगानी ल्याएर सञ्चालनमा आएको गोरखा मिडिया प्रालिमा साढे ३ करोड रुपैयाँ दिएको चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाका १७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सहकारीको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सहकारी ठगी कसूरमा आरोपीहरूविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले जानकारी दिए ।

गोरखा मिडियाका समेत अध्यक्ष रहेका जीबी राईले आफू नै अध्यक्ष रहेको साहारा सहकारीबाट ३ करोड ५० लाख रुपैयाँ लगानी गरेको अभियोगपत्रमा उल्लेख छ । प्रहरीले जीबीसहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

अभियोगपत्रमा भनिएको छ, ‘गितेन्द्रबाबु राई कार्यकारी अध्यक्ष रहेको विभिन्न कम्पनी तथा प्रालिहरूमा लगानी गरी सहारा चितवन बहुउद्देश्यीय सहकारीले पाउनुपर्ने भनी वित्तीय कारोबारको अभिलेख रहेको ।’

गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको भनिए पनि ३ करोड ५० लाख रुपैयाँ गएको देखिएको जनाइएको छ ।