सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौं : सञ्चारमन्त्री गुरुङ

सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौं : सञ्चारमन्त्री गुरुङ


काभ्रेपलाञ्चोक – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) पूर्ण रूपमा सञ्चालन गर्ने बताएका छन् ।

निर्माण एवं व्यवस्थापनको चरणमा रहेको प्रेसको बुधबार अनुगमन निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आवश्यक बजेट व्यवस्थापन गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी योजना बनाउने बताए ।

‘मन्त्रालय अब सेक्युरिटी प्रेस पूर्ण रूपमा चलाउने गरी अघि बढ्नेछ, प्रेस सञ्चालन गर्न देखिएका बिघ्नबाधा, तगारा जेजे छन् हटाउँदै अघि बढ्नेछौं,’ उनले भने । प्रेस उपकरण खरिदमा देखिएको विविध समस्याबारे अख्तियारबाट अनुसन्धान भइरहेको विषयलाई चाँडै टुंग्याइ अघि बढ्ने उनले बताए ।

मन्त्री गुरुङले निर्माणाधीन गोदाम भवनलगायत अन्य निर्माणाधीन संरचना पूरा गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी चाँडै बजेट व्यवस्थापनमा लाग्ने बताए । उनले भने, ‘आफ्नै मुलुकमा सुरु गरिएको सेक्युरिटी प्रेस निर्माणलाई निरन्तरता दिनुपर्छ, यसका लागि अर्थ मन्त्रालयसँगको समन्वयमा चालू आर्थिक वर्षमा केही र आउँदो आवमा नीति कार्यक्रम बनाएरै बजेट विनियोजन गरी ‘फूल फेज’मा सञ्चालनमा ल्याइनेछ ।’

उनले प्रेसमा रहेका मशिनको संरक्षण गरी सञ्चालनार्थ जनशक्ति व्यवस्थापन गर्ने बताए ।

मन्त्री गुरुङले प्रेस पूर्ण रुपमा सञ्चालनमा ल्याएपछि पहिलो चरणमा हुलाक टिकट, लेबल–स्टिकर, लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालय लगायत क्षेत्रका परिचयपत्र छाप्ने गरी दोस्रो चरणमा राहदानी र बैंक नोट छाप्ने गरी योजना बनाइने बताए । ‘क्रमशः नेपालीका लागि आवश्यक छपाइसँग जोडिएका सबै छपाई यही गर्नुपर्छ,’ उनले भने ।

सूचना प्रविधि पार्क (आईटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई केही वर्षअघि केन्द्रमा परिणत गरिएको थियो । उक्त प्रेसको भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम बजेट अभावमा एक वर्षदेखि रोकिएको थियो । केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे पनि रङरोगन र झ्याल–ढोका हाल्ने कामसमेत रोकिएको हो । केन्द्रमा आवश्यक गोदामघरलगायत पूर्वाधार निर्माण, उपकरण खरिद तथा भएका भवनको मर्मतसम्भारको काम हुँदै आएको थियो । ५० मिटर लम्बाइ र २५ मिटर चौडाइ क्षेत्रफलमा निर्माण भएको उक्त भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चा पदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ ।