रामेश्वर थापाको एपीवान टिभीमा पनि जीबीले गरेका थिए सहकारीको रकम लगानी

रामेश्वर थापाको एपीवान टिभीमा पनि जीबीले गरेका थिए सहकारीको रकम लगानी


काठमाण्डु – गोर्खा मिडिया ग्रुपका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले त्यसभन्दा पहिला अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाको लगानीमा सुरु भएको एपीवान टेलिभिजनमा सहकारीको पैसा लगानी गरेको भेटिएको छ ।

एपीवान टेलिभिजन प्रालिको उपाध्यक्ष बनेका जीबीले सहकारीको पैसा ल्याएर दुई करोड लगानी गरेको र त्यो उनको लगानी अहिलेसम्म त्यही एपीवान टेलिभिजनमै डुबेको निकटस्थ स्रोतले बतायो । एपीवान टेलिभिजन सुरुमा खोल्दा एपीवान प्रालिको अध्यक्ष थापा र उपाध्यक्ष राई थिए । प्रालिमा थापाको ६० प्रतिशत र राईको ४० प्रतिशत सेयर रहेको पनि स्रोतले बतायो ।

२०७३ साल चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यवसायिक साझेदारीमा गीतेन्द्रबाबु राई देखिएका थिए ।

एमाले सा‌ंसद सूर्य थापा नेतृत्वको सहकारी बचत रकम छानबिन संसदीय विशेष समितिले प्रतिवेदनमा जीबी गोर्खा मिडिया प्रालिमा लगानी गर्नुपूर्ण थापाको एपीवान टेलिभिजनमा सहकारीको पैसा राखेर पाटनर रहेको उल्लेख गरेको छ । ‘२०७३ साल चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यवसायिक साझेदारीमा गीतेन्द्रबाबु राई देखिएका थिए,’ थापा नेतृत्वको समितिको प्रतिवेदनमा उल्लेख छ ।

राईले एपीवानमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट कर्जा प्रवाह राईमार्फत भएको पनि प्रतिवेदनमा जनाइएको छ । ‘काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनमा लेखिएको छ ।

राईले एपीवान टेलिभिजनको चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को पहिलो संस्करणको कतारमा आयोजित फिनालेमा कम्पनीका उपाध्यक्षको हैसियतले भाग लिएका थिए । प्रतिवेदनमा ‘राई एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडिओ अहिले पनि सार्वजनिक रुपमा उपलब्ध छ,’ भन्ने वाक्य उल्लेख छ ।

एपीवानमा थापासँग राईको कुरा नमिली सम्बन्धमा दरार आएको बेलामा न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम चलाइरहेका रवि लामिछानेले पनि न्युज २४ टिभी छोडेका थिए । त्यसपछि राईले सहकारीको पैसा लगाएर ग्यालेक्सी फोरके टेलिभिजन खोलेमा सबैभनदा लोकप्रिय बनाउन सकिन्छ भन्ने प्रस्ताव गरेका थिए । राईको त्यो प्रस्ताव लामिछानेले स्वीकारेपछि गोर्खा मिडियाबाट ग्यालेक्सी खोल्ने निर्णय भएको प्रतिवेदनमा उल्लेख छ ।

‘जीबी राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित न्युज २४ सीधा कुरा जनतासँग कार्यक्रममार्फत अलग छबि बनाइसकेका रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिन्छ । राईले एपीवानबाट जाने बेलामा त्यहाँका मार्केटिङ प्रमुखलाई समेत ग्यालेक्सी फोरकेमा साथै लिएर गएको बताइन्छ,’ प्रतिवेदनमा लेखिएको छ ।

राईसँग कुरा नमिलेपछि थापाले एपीवान टेलिभिजनको लाइसेन्स अन्नपूर्ण नेटवर्कमा लग्दै एपीवान प्रालिको सेयर त्यागेका थिए । अहिले थापाले अन्नपूर्ण मिडियाबाट एपीवान टीभी अहिले पनि सञ्चालन गर्दै आएका छन् ।

राईले एपीवान टेलिभिजनमा लगानी गरेको २ करोड रुपैयाँ अझै डुबेको बताइन्छ ।