विवादित प्रहरी निरीक्षक शाही भैंसेपाटीबाट उपत्यका प्रहरी कार्यालय तानिइन्

विवादित प्रहरी निरीक्षक शाही भैंसेपाटीबाट उपत्यका प्रहरी कार्यालय तानिइन्


काठमाण्डु – विवादित पृष्ठभूमिकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीको जिम्मेवारी उपत्यका प्रहरी कार्यालयले खोसेको छ ।

२३ जेठमा ललितपुर प्रहरी प्रभाग भैसेपाटीमा पुगेकी निरीक्षक शाहीलाई जिम्मेवारीमुक्त गर्दै तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा तानिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।

उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि शाहीको जिम्मेवारी खोसिएको जानकारी दिए ।

यस घटनाबारे छानबिन गर्न ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनाइएको पनि अतिरिक्त महानिरीक्षक बज्राचार्यले जानकारी दिइन् । समितिले दिने प्रतिवेदनका आधारमा शाहीलाई कस्तो कारबाही हुने टुंगो लाग्ने कार्यालयले जनाएको छ ।

ललितपुर प्रहरीले शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ आफ्ना दुई आफन्तको नाममा रहेको बैँक खातामा राख्न ललाएको प्रमाण फेला परेको ललितपुर प्रहरीले जनाएको छ ।

यसअघि निरीक्षक शाही जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहँदा पनि विवादमा आएकी थिइन् । त्यहाँ रहँदा मुद्धा फाटमा कार्यरत शाहीले प्रहरी जवान राजेन्द्र नाथ बिनाकारण यातना दिएको आरोप लागेको थियो ।

प्रहरी जवान नाथले मुद्दा फाँटमा कार्यरत शाहीकै यातनाका कारण आफू जागिरबाट राजीनामा दिन बाध्य भएको सार्वजनिक गरेका थिए । निरीक्षक शाहीले आफूलाई यातना दिइरहेको र त्यही कारण आफूले प्रहरीबाट राजीनामा दिएको नाथले बताएका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयले यसबारे अनुसन्धान गरेको थियो । यतिसम्मकी निरीक्षक शाहीकै जोडबलमा प्रहरीले जवान नाथबारे समाचार लेख्ने पत्रकारलाई समेत पक्राउ गरेको थियो ।