डडेल्धुरा बस दुर्घटना : मृत्यु हुनेको संख्या १८ पुग्यो,सात जनाको सनाखत

डडेल्धुरा बस दुर्घटना : मृत्यु हुनेको संख्या १८ पुग्यो,सात जनाको सनाखत


डडेल्धुरा – डडेल्धुरामा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार बेलुकी ५ः४० बजेतिर दुर्घटना भएको हो।

१० जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य आठ जनाको अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा १३ पुरुष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा जितेन्द्र कँडेलले जानकारी दिए। मृतकमध्ये सात जनाको सनाखत भइसकेको छ।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने ३५ वर्षीया सशी विक, सोही नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया गोदा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल र सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल छन्। यस्तै डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० बस्ने रोहित बलायर र ठेगाना नखुलेकी माया रावलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए। २७ जना घाइते छन्।

घाइते मध्ये ११ जनालाई जिल्ला बाहिर ’रेफर’ गरिएको छ। आठ जनाको उपचार धनगढीमा भइररहेको छ भने तीन जनालाई कोहलपुर लगिएको छ। अन्य १६ जनाको उपचार डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा भइरहेको इन्चार्ज नागरीले जानकारी दिए। घाइते हुनेहरूमा डडेल्धुरा सकायलका १७ वर्षीय इन्द्र भुल, कोरालखोलाका माया खड्का, २० वर्षीय सुनिता रावल, सकायलका १९ वर्षीय रमेश भुल, २० वर्षीय पुरन भुल, डडेल्धुरा सेल्तडाका १६ वर्षीय नारद बलायर, गन्यापधुरा गाउँपालिकाका–१ का ३० वर्षीय ईश्वरी दमाई, गन्यापधुरा–३ का २४ वर्षीय चक्रबहादुर बोहरा, र नवदुर्गा गाउँपालिकाका–२४ वर्षीय थानेश्वर अवस्थी छन्।

यस्तै डोटीको तल्लोसालका १६ वर्षीय विनोद किमाडी, डोटी गोपघाटका–२३ वर्षीय श्याम ओझा, शिखर–६ डोटीका ३८ वर्षीय भीम बलायर, डोटी शिखर–१० का २९ वर्षीय सरिता बलायर, डोटी तिलताडिका–१५ वर्षीय सोनीया रावल, बन्डोरसैन डोटीका १५ वर्षीय सन्तोष रावल, बन्डोरसैन डोटीका २० वर्षीय भरत बलायर, तल्लीसाल डोटीका २१ वर्षीय हरिना बोहरा, वनलेक डोटीका ३८ वर्षीय सावित्री धामी र शिखर डोटीका–१७ वर्षीय रमेश धामी घाइते छन्। बिहीबार बेलुकी डा.केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको थियो।

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा परेको हो। बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो। बसमा ४३ जना यात्रु सवार थिए। बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको बताइएको छ।