पानीको सतह बढेपछि भारतले खोल्यो गण्डक बाँधका सबै ढोका

पानीको सतह बढेपछि भारतले खोल्यो गण्डक बाँधका सबै ढोका


काठमाण्डु-अविरल वर्षाले नारायणी नदीमा बाढी आएपछि भारतीय भूभागमा हुने जोखिम कम गर्न भारतले त्रिवेणीधामस्थित गण्डक ब्यारेजको सबै ढोका खोलेको छ ।

शनिबार बिहान गण्डकका ३६ वटै ढोका खोलिएको हो । त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह ३ लाख ६० हजार क्यूसेक लिटर प्रतिसेकेण्ड भन्दा माथि छ ।

पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने अवस्था छ ।

४ लाखभन्दा बढी पानीको सतह भएपछि खतराको लेबल मानिने नेपाल गण्डक पश्चिम नहर सिचाइँ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर तीलकराम बुढाथोकीले जानकारी दिए । गण्डक बाँधमा अहिले ५ लाख ७४ हजार क्यूसेक पानी पुगेको छ । खतराको सतह बढेपछि बाँधका ढोका खोलिएका हुन् ।

त्रिवेणीस्थित नेपाल–भारत सिमानामा बाँध बाँधेर भारतले त्यहाँको उत्तर प्रदेश र बिहारमा सिँचाइको लागि नहर बनाएर पानी लगेको छ । नारायणी नदीलाई त्रिवेणीदेखि तल भारतमा गण्डक नामले चिनिन्छ । ब्यारेजको ढोका खोल्ने र बन्द गर्ने जिम्मा भारतको छ ।

नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ ।

यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
बाँधको कारण पूर्वी र पश्चिम नवलपरासीका ३० बढी गाउँ जोखिममा पर्छन् ।