मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, नागार्जुनमा घर भत्किँदा एक जनाको मृत्यु

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, नागार्जुनमा घर भत्किँदा एक जनाको मृत्यु


काठमाण्डु-अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।

सिस्नेरी प्रहरी चौकीका इन्चार्जप्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए ।
बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुईवटा ढोका खोलिएका थिए ।

विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।

अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

नागार्जुनमा एक जनाको मृत्यु

काठमाडौँको नागार्जुनमा पहिरोलले घर भत्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य तीन जना पुरिएर बेपत्ता भएका प्रहरीले जनाएको छ ।

नागार्जुन नगरपालिका–३ इचङ्गु नारायण मन्दिर नजिक घर भत्किँदा ५५ वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन । भत्किएको घरमा अन्य तीन जना पुरिएका छन् ।