विपद्मा परी मृत्यु हुनेको संख्या ६६ पुग्यो, ७९ जना बेपत्ता

विपद्मा परी मृत्यु हुनेको संख्या ६६ पुग्यो, ७९ जना बेपत्ता


काठमाण्डु – ३ दिनदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् ।

हालसम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाण्डुमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाण्डुमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता भएका उनले बताए । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । २०० भन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न संघसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।