काठमाण्डु बाहिरका ८ विमानस्थलमा आन्तरिक उडान सञ्चालन

काठमाण्डु बाहिरका ८ विमानस्थलमा आन्तरिक उडान सञ्चालन


काठमाण्डु – राजधानी काठमाण्डु बाहिरका विभिन्न ८ विमानस्थलमा शनिबार राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० बजेसम्मका लागि उडान खुलाउने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाण्डु बाहिरका ८ विमानस्थलमा उपकरणको सहायताले गरिने उडान इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) उडान मात्रै खुलाएको हो । यसअघि वर्षा कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान साँझ ६ बजेसम्मका लागि खुलाइएको थियो ।

आईएफआर उडान हुने विमानस्थलमा रातिसम्म उडान सञ्चालन गरिएको हो । ‘साँझ ६ बजेसम्म काठमाण्डु बाहिराका ६ विमानस्थलमा मात्रै उडान खुलाइएको थियो । ६ बजेपछि काठमाण्डुबाट सबै आईएफआर उडानयोग्य विमानस्थलमा उडान सञ्चालन गर्न दिने निर्णय भएको छ,’ प्रवक्ता भुलले भने ।

आईएफआर विधिबाट चन्द्रगढी, विराटनगर, सिमरा, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा उडान भइरहेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

उडानले २ दिनदेखि गन्तव्यमा पुग्न नपाएका सयौं यात्रु लाभान्वित हुनेछन् । आन्तरिक उडान प्रभावित हुदाँ विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको बाक्लो भीड बढेको छ । उडान खुलेपछि ठूलो संख्यामा यात्रुहरू विमानस्थल पुगेको जनाइएको छ ।

प्राधिकरणले मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि सबै आन्तरिक उडान स्थगित गरेको थियो । शनिबार दिउँसो साढे १२ बजेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको थियो । अन्तर्राष्ट्रियतर्फ पनि केही विमान ‘होल्ड’ र ‘डिले’ भएका थिए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालबाट मनसुन बाहिरिने संघारमा छ । नेपालमा १२ जुनमा मनसुन भित्रिएर २ अक्टोबरमा बाहिरिने भए पनि यो वर्ष मनसुन केही ढिला गरी बाहिरिने पूर्वानुमान गरिएको छ ।

प्राधिकरणका सूचना अधिकारी भुलले महाशाखासँग प्राधिकरणले समन्वय गरेर हवाई उडान निर्धारण गरिरहेको जानकारी दिँदै मनसुन पूर्वबाट पश्चिमतर्फ लागिरहेकाले अहिले खासगरी काठमाण्डुबाट पूर्वी भेगको ‘इनरुट वेदर’ बिग्रिएकाले उडानमा समस्या भइरहेको छ ।

तुलनात्मक रूपमा पश्चिम क्षेत्रमा मौसम सहज भएकाले उडान अवरोध भएको छैन ।

उनले मौसममा सुधार नआएसम्म ‘भिजुअल फ्लाइट रुल्स’ (भीएफआर) उडान र उद्धार उडान बाहेकका अन्य हेलिकप्टरको उडान स्थगित गरिएको बताए । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।