विपद्को बेला एनसेलद्वारा निःशुल्क डेटा उपलब्ध

विपद्को बेला एनसेलद्वारा निःशुल्क डेटा उपलब्ध


काठमाण्डु – देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले निःशुल्क डेटा उपलब्ध गरेको छ ।

‘भारी वर्षाका कारण सिर्जना भएको यस कठिन परिस्थितिलाई ध्यानमा राख्दै एनसेलले आज शनिबार (असोज १२, २०८१) बिहानदेखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको छ,’ एनसेलले भनेको छ, ‘यस्तो विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता अझै झन बढी हुन्छ । एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेल आफ्ना ग्राहकलाई उहाँहरूको परिवार, आफन्तजन, साथीभाइ र आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्घ छ ।’

एनसेलको निःशुल्क डेटाले ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्त्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगका लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्‍याउने उदेश्य लिएको जनाइएको छ ।

निःशुल्क डेटा उपलब्ध गराउनुका साथै कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने जनाएको छ ।

‘नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरूसँग समन्वय र सहकार्य गरिरहेको छ,’ एनसेलले भनेको छ, ‘१ करोड ३० लाखभन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनी मात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग हो । हाम्रो सेवा ग्राहकलाई अनलाइन राख्न मात्र सिमित नभई यो सेवाको मद्दतले ग्राहकले आवश्यक सहयोग लिन पाऊन्, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाऊन् र आफ्ना परिवार तथा प्रियजनहरूसँग सम्पर्कमा रहिरहून् भन्ने हो ।’