सरकार र माओवादी केन्द्रको छुट्टाछुट्टै सर्वदलीय बैठक बस्दै

सरकार र माओवादी केन्द्रको छुट्टाछुट्टै सर्वदलीय बैठक बस्दै


काठमाण्डु-अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सरकार र माओवादी केन्द्रले आज सर्वदलीय बैठक बोलाएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज सर्वदलीय बैठक बोलाएका हुन् ।

आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक बोलाइएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पनि सर्वदलीय बैठक बोलाएका छन् ।

अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठक आइतबार बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।