भ्रमण छोट्याएर प्रधानमन्त्री आज स्वदेश फर्किदै

भ्रमण छोट्याएर प्रधानमन्त्री आज स्वदेश फर्किदै


काठमाण्डु-देशमा आएको प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । उनी आज १० बजे नेपाल आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले आफू छिट्टै नेपाल फर्किने तयारीमा रहेको समेत बताएका छन् । काठमाडौं उपत्यकासहित देशभरि बाढी पहिरोले जनजीवन प्रभावित बनाएपछि प्रधानमन्त्री ओली स्वदेश फर्किन लागेका हुन् ।

यसअघि असोज १४ गते स्वदेश फर्किने मिति तय भए पनि प्रधानमन्त्री ओलीले भ्रमण छोट्याएर आजै स्वदेश आउन लागेका हुन् ।

नेपालमा प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति गरेपछि प्रधानमन्त्रीले कार्यक्रम छोट्याएर स्वदेश फर्किने तयारी गरेको सचिवालयले जनाएको हो । प्रधानमन्त्री एक विश्वविद्यालयमा भएको कार्यक्रममा सहभागी हुन अहिले अमेरिकाको बोस्टन राज्यमा छन् ।