चाडबाडमा होटल र रेस्टुरेन्टले मनलाग्दी मूल्य राखे पनि सरकारले अनुगमन नगर्ने

चाडबाडमा होटल र रेस्टुरेन्टले मनलाग्दी मूल्य राखे पनि सरकारले अनुगमन नगर्ने


काठमाण्डु – सरकारले चाडबाडका बेलामा होटल तथा रेस्टुरेन्टलाई मनलाग्दी मूल्यमा सामान र खानेकुरा बेच्न दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारी र व्यवसायीबीच चाडबाडका बेला होटल र रेस्टुरेन्टमा सरकारी प्रतिनिधिले अनुगमन नगर्ने सहमति भएको भन्दै होटल संघ नेपालले परिपत्र गरेको छ ।

होटल एसोसिएसन नेपालले सरकारी प्रतिनिधिले होटल र रिसोर्टमा अनुगमन नगर्ने सहमति उद्योगमन्त्री भण्डारी, उद्योग सचिव र वाणिज्य विभागका महानिर्देशकले आफूहरूसँग गरेको बताउँदै बताएको छ ।

संघले गरेको परिपत्रमा ‘सरकारी प्रतिनिधिहरूले नियमानुसार चाडपर्व अवधिभर नियमित ढंगबाट अनुगमन गर्ने, तर होटल तथा रिर्सोर्टहरूको हकमा भने अनुगमन नगरिने,’ भन्ने वाक्य उल्लेख छ । पानीको वास्तविक मूल्यभन्दा होटल व्यवसायमा सेवाको मूल्य प्रतिशत अधिक हुने भएकाले होटल तथा रिसोर्टले पानीको बोतलमा आफ्नै लेबल, ब्रान्ड र एमआरपी राखी बिक्री वितरण गर्न सक्ने सहमति भएको होटल एसोसिएसन नेपालले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक रेस्टुरेन्टमा अनुगमन गरी पानीमा बढी मूल्य लिएको आरोपमा ३ लाख जरिवाना तिराएपछि व्यवसायी असन्तुष्ट हुँदै मन्त्रीसमक्ष गुनासो गरेपछि त्यस्तो सहमति भएको निकटस्थ स्रोतले बतायो ।

वाणिज्य विभागका महानिर्देशक राजन पौडेलले जुन होटलले आफैं पानी उत्पादन गर्छन्, उनीहरूले आफ्नो एमआरपी राख्न पाउने भन्ने सहमति भए भए पनि अनुगमन नगर्ने सहमति भने नभएको बताए । उनले व्यवसायीहरूले भ्रम छरेको बताए ।

चाडबाडका बेलामा ठूला होटलमा अझ प्राथमिकताका साथ अनुगमन हुने महानिर्देशक पौडेलको भनाइ छ ।