काठमाण्डु – सहकारी ठग्ने बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध अहिले जिल्ला अदालत बागलुङमा बयान भइरहेको छ ।
पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले जिल्ला अदालत बागलुङमा हाजिर गराएको हो । बिहान ११ बजे अदालत मा उपस्थित गराइएका नेपालीको पौने १२ बजेबाट बयान भइरहेको स्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए ।
बयान सकिएपछि नेपालीलाई इजलासमा पेस गरिने सुवेदीले जानकारी दिए । शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका नेपालीलाई आइतबार राति बागलुङ ल्याएर जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो ।
२०८० वैशाख ७ गते तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि बेपत्ता भएका नेपालीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका छन् । जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । नेपाली एमालेबाट ढोरपाटन नगरपालिकाको प्रमुखमा दुई पटकसम्म निर्वाचन भएका थिए ।
प्रतिक्रिया