बाढीपहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनामा जुट्ने माओवादी केन्द्रको निर्णय

बाढीपहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनामा जुट्ने माओवादी केन्द्रको निर्णय


काठमाण्डु – नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि योजनाबद्ध रूपमा काम गर्ने भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको प्रचार तथा प्रकाशन विभाग र विपद् व्यवस्थापन विभागको संयुक्त बैठकले विपद्का समयमा सूचना संकलन र सम्प्रेषण तथा विपद्पछिको राहत र पुनःस्थापनाका विषयमा एकीकृत योजना लागू गर्ने निर्णय गरेको छ ।

गत शुक्रबारदेखि २ दिनसम्म परेको अविरल वर्षाका कारण काठमाण्डु उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको जनधनको क्षति तथा त्यसपछिको राहत र पुनःस्थापनाको कार्यका लागि पार्टीका जनसंगठन, मोर्चा, स्थानीय तथा प्रदेश समितिसम्ममा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । बैठकले पार्टीभित्रका सबै जनसंगठन मोर्चाहरूलाई उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा सूचना डेक्स सञ्चालन गरेर त्यसमार्फत आधिकारिक सूचना प्रवाह गर्ने भएको छ ।

बैठकले प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा लगायतका अत्यावश्यक सामाग्रीसहित उद्धारमा खटिन समेत निर्देशन जारी गरेको छ ।

बैठकले सरकारले समयमै पहलकदमी लिन नसकेका कारण मनसुनजन्य विपद्बारे जानकारी हुँदाहुँदै पनि उपत्यकाभित्रै उद्धारको अभावमा धेरै मान्छेको मृत्यु भएको निष्कर्ष निकालेको छ । विपद्प्रति सरकारको उदासिनता र हेलचक्र्याइँका कारण उद्धार कार्यमा भएको ढिलासुस्ती तथा समन्वयको अभावले उपत्यकाभित्रै धेरै नागरिकहरूले ज्यान गुमाउनुपरेको बैठकको निष्कर्ष छ । सरकारी संयन्त्रहरूको उचित परिचालन गर्न नसक्दा र सरकारविहीनताको अवस्थाले देशभर विपद्का कारण धेरै नागरिकले ज्यान गुमाएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

हालै राजधानी लगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारणले विभिन्न भागमा बाढीपहिरो र डुबानमा परी झण्डै २०० जनाभन्दा बढी नागरिकको निधन भएको छ भने अझै पनि दर्जनौं संख्यामा व्यक्तिहरू हराइरहेका छन्, कैयौ घाइते भएका छन् ।

अधिकांश नदी किनारका घर बस्तीहरू खण्डहरमा परिणत भएका छन् । यस्तो अवस्थामा पीडित नागरिकहरूको उद्धारमा खटिन माओवादी केन्द्रले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेकपा माओवादी केन्द्रको नाममा रहेको ग्लोबल आईएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको छ । पार्टीले जबस तथा मोर्चाहरूसहित पार्टी संगठनको समन्वयमा उद्धार तथा राहत कार्यमा खटिनका लागि पार्टीले विशेष परिपत्र समेत जारी गरिसकेको छ ।