काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् ।
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराए ।
उनका अनुसार सरकारले ७०० भन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिसकेको छ ।
सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानी आवास बनाउने व्यवस्था मिलाइएको बताए । क्षतिग्रस्त संरचनाको मर्मत गरी सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए ।
गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबारै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको बताए । यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको उनले बताए । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको उनले बताए ।
गृहमन्त्री लेखकका अनुसार नख्खु खोलमा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो । ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिविलिटी नभएको मलाई बताउनुभएको थियो । एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो । प्रहरीले सहयोग नगरेको भन्ने होइन,’ उनले भने, ‘४ हजारभन्दा बढीको उद्धार सरकारले गरेको छ । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैन ।’
सरकारले अहिले पनि राहत र उद्धारको काम गरिरहेको गृहमन्त्री लेखकले बताए ।
प्रतिक्रिया