काठमाण्डु – एनसेल फाउन्डेसनद्वारा प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत कपिलवस्तु नगरपालिका–९ निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शिविरमा लगभग ४०० भन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मानिसहरूले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । शिविरमा आएका सेवाग्राहीले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधिहरू पनि पाएका थिए ।
एनसेलले भनेको छ, ‘यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो ।’ यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । एनसेल फाउन्डेसनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।
‘नेपालका दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्य अनुरूप एनसेल फाउन्डेशनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो । हामीले समुदायका मानिसहरूका लागि फाइदा हुने काम गर्न सधंै प्रतिबद्घ रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुट स्तरका सामाजिक विकासका कार्यहरु गर्दै आएका छांै । हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।
एनसेल फाउन्डेसनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ । एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू योजना बनाएको छ । एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा एनसेलले आफ्नो स्थापनापश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्बभन्दा बढी योगदान गरिसकेको छ ।
प्रतिक्रिया