इजरायलमा इरानले गर्‍यो आक्रमण

इजरायलमा इरानले गर्‍यो आक्रमण

गम्भीर परिणाम भोग्नु पर्ने इरानलाई अमेरिकाको चेतावनी


काठमाण्डु-इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ ।

इजरायली सुरक्षा बल आइडीएफले देशमा मिसाइल आक्रमण भइरहेको जानकारी दिएको छ ।

अधिकारीहरूका अनुसार इरानले इजरायलमाथि १८१ भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकाको चेतावनी पछि पनि इरानले सम्पूर्ण इजरायलमाथि मंगलबार राति १८१ भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

इरानले पनि इजरायलमा मिसाइल आक्रमण थालेको पुष्टि गरेको छ । हमास नेता इस्माइल हनिया र हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको बदलामा यो आक्रमण गरिएको इरानी रिभ्युलसनरी गार्ड्सले बताएको छ ।

इजरायलका धेरै शहरमा अहिले इरानी मिसाइलको लर्को देखिएको छ । आइडीएफले देशभरी नै इरानी मिसाइल आक्रमण जारी रहेको पछिल्लो बयानमा उल्लेख गरेको छ ।

सम्पूर्ण इजरायलमा खतराको साइरन बजाइएको छ । मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ ।

इरानले निरन्तर आक्रमणहरू गरेपछि नागरिकहरूलाई बम शेल्टरमा जान भनिएको छ ।

आक्रमण पछि इरानले नसरल्लाहको शहादतको यो पहिलो बदला भएको र यो अहिले त सुरुवात मात्र भएको बताएको छ ।

यसअघि अमेरिकाले इरानले आक्रमणको तयारी गरेको सूचना पाएको भन्दै आफ्नो दूतावास भवनमा रहेका कर्मचारी र उनीहरूका परिवारका लागि अलर्ट जारी गरेको थियो ।

इरानले १३ अप्रिलमा पनि इजरायलमा थुप्रै मिसाइल हानेको थियो । तर, त्यसबेला धेरै मिसाइल इजरायलले असफल बनाएको थियो । यसपटकको हमला त्योभन्दा ठूलो भएको अनुमान गरिएको छ । एक अमेरिकी अधिकारीले इजरायलमा आक्रमणले इरानका लागि गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।

२७ सेप्टेम्बरमा इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेको थियो । यसमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका थिए । इजरायली सेनाका प्रवक्ता डेनियल हागारीले भने, ‘यस आक्रमणको परिणाम भोग्नु पर्नेछ । हामीसँग योजना छ र हामी आफ्नो इच्छा अनुसार समय र स्थान तय गरेर कारबाही गर्नेछौं ।’

त्यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायलको मद्दत गर्ने बताएका छन् । अमेरिकाले इरानले यदि इजराइलमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । बीबीसीका अनुसार बाइडनले बेलुका इजरायललाई हरतरहले सहयोग गर्न सेनालाई आदेश दिएका हुन् ।

त्यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन् ‘इरानले आज राति ठूलो गल्ती ग र्‍यो र उसले यसको मूल्य चुकाउनु पर्नेछ ।’