एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड


काठमाण्डु – नेपाली विद्यार्थीहरूले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्त्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् ।

ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले उपलब्धि हासिल गर्न सफल भएको छ ।

सयौं विद्यार्थीहरू मध्येबाट छानिएको समूहमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी र समृद्धि कार्की छन् । कार्यक्रममा विश्वभरका युवा प्रतिभाहरूको नविन सोचलाई बढावा दिँदै कैयौ योजनाहरू समावेश गरिएका छन् ।

एसिया प्यासेफिक समिटमा १९ मुलुकका सयौ विद्यार्थीले सहभागिता जनाएका छन् । जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर नामक एआई व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए ।

नेपाली समूहका सदस्य समिप अर्यालले भने, ‘अल्ट्रा केयर यात्रा सहज अल्ट्रासाउण्ड मशिन हो, जसले ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज सेवा दिन सक्छ । यो उपकरणले सानोस्तरका स्वास्थ्य संस्थालाई एआई प्रविधिसँग जोड्नेछ । जसले भ्रूणको अवस्था पत्ता लगाई त्यस विषयमा पर्याप्त जानकारी उपलब्ध गराउँछ ।’

अर्यालले मशिनले गर्भमा रहेको शिशु वा गर्भवतिमा कुनै स्वास्थ्य जटिलता आइपरेको खण्डमा उपकरणले समयमा नै परीक्षण गर्न सक्ने बताए । अर्यालले भने, ‘यदि कुनै असामान्य परिस्थिति आइपरेको खण्डमा उपकरणले सिधै सम्बन्धित अस्पतालका चिकित्सकलाई जानकारी पठाएर महिलाको ज्यान जोगाउन सकिनेछ ।’

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिटले नेपाली विद्यार्थीहरूको नविन सोचको ऊर्जालाई उजागर गरेको छ । सामाजिक हितका निम्ति प्रविधिको प्रयोगप्रति विद्यार्थीहरूको दृढ प्रतिबद्धतालाई अल्ट्राकेयरले प्रमाणित गरेको छ । ह्वावे नेपाल युवा प्रतिभालाई प्रोत्साहन गर्दै भविष्यका सशक्त नेतृत्व निर्माणमा लगातार समर्पित छ ।

सिड्स फर द फ्युचर कार्यक्रम नेपालमा २०१९ मा सुरू भएको हो, जसले देशको प्रविधि परिदृश्यलाई आकार दिनका लागि दर्जनौं विद्यार्थीहरूलाई प्रेरित गरिरहेको छ ।

सिड्स फर द फ्युचर कार्यक्रम ह्वावेको विश्वव्यापी सीएसआर प्रयास अन्तर्गत २००८ मा थाइल्याण्डमा सुरु भएको हो । हालसम्म विश्वभरका १४१ देशका १८ हजारभन्दा बढी विद्यार्थीहरूले यसबाट फाइदा उठाइसकेका छन् । नेपालमा सीएसआर कार्यक्रमले उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न गतिविधिहरूमा संलग्न गराउँछ, जसमा कलेज भ्रमण, कार्यशालाहरू र अन्तिम अन्तर्वार्ता समावेश छन् ।

क्षेत्रीय चरणमा चीन भ्रमण हुने गर्दछ, जहाँ विद्यार्थीहरूले डिजिटल पावर, क्लाउड, ५जी र एआई जस्ता विषयहरूमा अन्वेषण गर्नेछन् ।

क्षेत्रीय कार्यक्रममा टेक फर गूड प्रतियोगिता पनि समावेश छ, जसबाट क्षेत्रीय विजेताहरू २०२५ मा पुनः चीनमा आयोजना हुने विश्व फाइनलका लागि छनौट हुनेछन् ।