अध्यक्ष प्रचण्ड र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता


काठमाण्डु – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले बुधबार शिष्टाचार भेट गरेका छन् ।

आफ्नो निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले बाढीपहिरोका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यो संकट समाधानमा साथ दिन युरोपियन युनियनलाई आग्रह गरे । बाढीपहिरोको पीडा नेपाली जनताले व्यहोर्नुपरे पनि यो विश्वव्यापी समस्याकै अंग भएकाले जलवायु परिवर्तनका कारण भइरहेका यस्ता विपद्प्रति विश्वको ध्यान जानुपर्ने उनले बताए ।

राजदूत लोरेञ्जोले बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै युरोपियन युनियनको साथ रहने बताए । उनले नेपालको शान्ति प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गर्दै त्यसको सफल नेतृत्व गरेकोमा ईयूको तर्फबाट अध्यक्ष प्रचण्डलाई बधाई पनि दिए ।

भेटका अवसरमा नेपाल र ईयूको सम्बन्ध सुधारका विषयमा बहुआयामिक छलफल भएको थियो ।