बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्न आज त्रिपक्षीय सम्झौता हुँदै

बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्न आज त्रिपक्षीय सम्झौता हुँदै

विद्युत् बिक्रीबापत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने


काठमाण्डु-नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौता हुँदैछ । विद्युत् बिक्रीबापत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता हुन लागेको हो ।

यसअघि ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता हुने भनिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले सम्झौता पछि सारिएको हो ।

मंगलबार र बुधबार ऊर्जा सचिव र सहसचिवस्तरको बैठक बसेर बिक्रीसम्बन्धी सम्झौता गर्ने तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले भने । सम्झौताका लागि बंगलादेशका ऊर्जामन्त्री नेपाल आएका छन् ।

दुई दिन ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (ज्वाइन्ट स्टेरिङ कमिटी–जेएससी) र सहसचिव सम्मिलित संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रप–जेडब्लूजी) को बैठक काठमाडौंमा बसेको हो ।

प्राधिकरणले वर्षायामका ५ महिना अर्थात् हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ, जसअनुसार ५ महिनामा १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न लागेको हो । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले २०२३ डिसेम्बर ६ (गत वर्ष मंसिर २०) मा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको थियो । त्यसपछि बीपीडीबीले नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि गत जनवरी १ (१६ पुस ०८०) मा बोलपत्र आह्वान गरेको थियो ।