बेल्जियममा प्रस्तावित राजदूत लम्सालविरुद्ध कार्यवाहक राजदूत श्रेष्ठको उजुरी

बेल्जियममा प्रस्तावित राजदूत लम्सालविरुद्ध कार्यवाहक राजदूत श्रेष्ठको उजुरी


काठमाण्डु – सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेकी परराष्ट्रसचिव सेवा लम्सालविरुद्ध कार्यवाहक राजदूतले उजुरी दिएका छन् ।

इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासका राजदूत कुमारबहादुर श्रेष्ठले लम्सालले कर्मचारीमाथि सहसचिव हुँदादेखि नै विभेद गरेको दृष्टान्तसहित संसदीय सुनुवाइ समितिमा उजुरी दिएका हुन् ।

सरकारले सचिव लम्साललाई राजदूतमा सिफारिस गरेर संसदीय सुनुवाई समितिमा सुनुवाइका लागि पठाएको थियो । समितिले लम्सालविरुद्ध उजुरी आह्वान गरेको समयमा कार्यवाहक राजदूत श्रेष्ठले लम्सालविरुद्ध उजुरी गरेका समितिका एक सदस्यले जानकारी दिए ।

कार्यवाहक राजदूत श्रेष्ठले लम्सालबाट आफू नै विभेदको सिकार भएको उजुरीमा उल्लेख गरेका समितिसम्बद्ध स्रोतले जानकारी दियो । श्रेष्ठले दुईपटकसम्म ‘ग’ वर्गमा काम गरेपछि पनि आफूमाथि विभेद गरेर लम्सालले पुनः सोहीसरहकै दूतावास इजरायल सरुवा गरेको उजुरीमा लेखेका छन् ।

आफूले अवधि पुगेपछि योग्यता पुग्ने दूतावासमा मागेको सरुवा सचिव लम्सालले नदिएको श्रेष्ठले लेखेका स्रोतले बतायो । त्यस्तै उनले उजुरीमा आफू कार्यरत राजदूतावास मातहतको देश साइप्रसका नेपालीका समस्या बुझ्न जान दिएको निवेदनमा समेत सचिव लम्सालले सुनुवाइ नगरेको भन्दै उनी राजदूतका लागि योग्य नभएको बताएका छन् ।

प्रस्तावित देश बेल्जियममा रहेका नेपालीहरूको समस्या समाधानका लागि आवश्यक पर्ने कूटनीतिक क्षमता लम्सालमा नरहेको दाबी उनले उजुरीमा गरेका छन् । लम्साल राजदूतका लागि योग्य नभएकाले कुटनीतिक रूपमा नेपालको योग्यता र क्षमतालाई बचाइराख्न उनलाई अस्वीकृत गर्न संसदीय सुनुवाइसमक्ष माग गरेका छन् ।