डा. सीके राउतको मानसिक अवस्था जाँच गराउन श्रीमती सोनी सिन्धु रानीको माग

डा. सीके राउतको मानसिक अवस्था जाँच गराउन श्रीमती सोनी सिन्धु रानीको माग

‘डिभोर्स दिन मेरो मञ्जुरी छैन’


काठमाण्डु – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतकी श्रीमती सोनी सिन्धु रानीले आफ्ना श्रीमानको मानसिक अवस्था जाँच गराउन अदालतसमक्ष माग गरेकी छन् ।

ललितपुर जिल्ला अदालतमा डा. राउतले दायर गरेको सम्बन्धविच्छेद मुद्दामा बुधबार प्रतिउत्तर पेस गर्दै उनकी श्रीमती सिन्धु रानीले डा. राउतको मानसिक अवस्था जाँच गराउन अदालतसमक्ष माग गरेकी हुन् । प्रतिउत्तरमा रानीले फिराद पत्रमा आफ्नो मानसिक अवस्था ठिक नभएको आरोप लगाउने पति डा. राउतको मानसिक अवस्था जाँच गराउनु पर्ने माग राखेकी ह्ुन् ।

‘मलाई पेट दुख्ने, टाउको दुख्नेलगायत अन्य स्वास्थ्य समस्या भएका बेला डिप्रेसनको औषधि खाऊ भनी दिनेजस्ता अस्वाभाविक कार्यहरू गर्नुभएकाले र मलाई सधैं दुस्ख दिने नियत मात्र राखेकाले विपक्षीको नै मानसिक समस्या छ जस्तो देखिन्छ,’ रानीले प्रतिउत्तरमा लेखेकी छन्, ‘निज विपक्षीको मानसिक अवस्था जाँच गरी पाउने आदेशका लागि सम्मानित अदालतसमक्ष निवेदन गर्दछु ।’

रानीले आफूमाथि पति डा. राउतसहित सासूससुरा र नन्दले नियमित घरेलु हिंसा, मानसिक यातना, शारीरिक यातना दिइरहेको उल्ल्लेख गर्दै विभिन्न गालीगलोज गर्ने, वचन लगाउने, कुटपिट गर्नेजस्तो व्यवहार गरेको प्रतिउत्तरमा लेखेको ललितपुर अदालत निकट स्रोतले जानकारी दियो ।

उनले परिवारको अपहेलनाका कारण सुत्केरी अवस्थामा पनि आफूले आराम र स्याहार नपाएपछि बाध्यतावश विगतमा डिभोर्स मागे पनि अहिले श्रीमानले दायर गरेको सम्बन्धविच्छेदको मुद्दामा आफ्नो मञ्जुरी नभएको उल्लेख गरेकी छन् ।

‘सुत्केरी अवस्थामा मैले आराम र स्याहार पाइनँ । शरीर दुखिरहनेजस्ता समस्या आइरहन्थ्यो । यतिसम्म हुँदा पनि विपक्षी पतिले मलाई कहिले राम्रो गर्नुभएन । सधैं घरमा काम गर्ने नोकरको रूपमा हेर्ने र सोहीबमोजिमको व्यवहार गर्नुहुन्थ्यो । आफ्नै पतिले राम्रो व्यवहार नगरेपछि घरका अरू सदस्यले पनि कहिले राम्रो व्यवहार गर्नुभएन,’ रानीले प्रतिउत्तरमा लेखेकी छन्, ‘परिवारबाट पाइरहेको मानसिक र शारिरीक यातनाबाट आजित भएर पहिले मैले डिभोर्सको कुरा उठाएको हो ।’

अहिले भने पतीले दायर गरेको सम्बन्धविच्छेद मुद्धामा आफ्नो मञ्जुरी नभएको उनले लेखेकी छन् । ‘विपक्षीले सम्बन्धविच्छेद गरौं भनेकोमा मेरो मञ्जुरी छैन,’ रानीले लेखेकी छन् । आफ्नो कुनै पनि आयस्रोत नभएकाले म र मेरा बच्चाहरूलाई खाने, लाउने, बस्ने, उपचार गर्ने व्यवस्था समेत विपक्षीबाट दिलाई,भराई पाउँ भनै माग गरेकी छन् ।

‘मेरो कुनैपनि आयस्रोत समेत नभएकाले सम्मानित अदालतबाट निजको नाममा रहेको, परिवारसँग अंशवण्डा नभई सगोलमा नै रहेको र मबाट लुकाएर परिवारका अन्य सदस्यका नाममा राखेको सम्पूर्ण सम्पत्तिबाट म र मेरा बच्चाहरूलाई खाने, लाउने, बस्ने, उपचार गर्ने व्यवस्था समेत विपक्षीबाट दिलाईरभराई, सम्मानित अदालतबाट न्याय दिलाई उक्त मुद्दा खारेज गरी मेरो प्रतिउत्तर जिकिरबमोजिम इन्साफ दिलाइपाऊँ,’ रानीले लेखेकी छन् ।