कर्मचारीलाई मुख्यमन्त्री शाहको निर्देशन : जनताको सेवा निस्वार्थ भावले गर्नू

कर्मचारीलाई मुख्यमन्त्री शाहको निर्देशन : जनताको सेवा निस्वार्थ भावले गर्नू


बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा निस्वार्थ भावले गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बैतडीको पुर्चाैडी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रदान गर्न दत्तचित्त भएर लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । उनले भने, ‘जनप्रतिनिधि र कर्मचारीले जनतालाई सेवा दिन कुनै कसर बाँकी राख्नु हँदैन । निस्वार्थ भावनाले जनताको सेवामा खटिनुपर्छ ।’

प्रदेश सरकार सुशासनका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले बिचौलियाका माध्मबाट कुनै पनि योजना तथा कार्यक्रम सञ्चालन नहुने प्रष्ट पारे । उनले भने, ‘प्रदेश सरकारले सुशासनका क्षेत्रमा काम गरिरहेको छ । माग र आवश्यकताका आधारमा योजना छनोट भएका छन् ।’

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय शिवराज भट्ट र विक्रमसिंह धामी, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुवँर, पुर्चाैडी नगरपालिकाका प्रमुख दीपकबहादुर बम, उपप्रमुख मीना धानुक लगायतको सहभागिता थियो ।

विक्रम संवत् २०७७ मंसिरमा निर्माण थालिएको भवन ६ करोड ७६ लाखको लागतमा २०८१ वैशाखमा निर्माण सम्पन्न भएको हो ।