बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने

बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने


गण्डकी – गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
अघिल्लो हप्ता परेको वर्षाले उपत्यका लगायत देशैभरका विभिन्न स्थानमा बाढी, पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बैठकले बेपत्ताको खोजी, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
विपद्का कारण काठमाण्डु उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै मुख्यमन्त्री पाण्डेले विपत्तिको सामना सबै मिलेर गर्नुपर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको बताए । यसअघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि गण्डकी प्रदेश सरकारले १ करोड सहयोग गरेको थियो ।
प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माण लगायत कार्यमा संघीय सरकारसँग आवश्यक समन्वय गर्ने जनाएको छ ।
बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईंको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल सदस्य रहेको समिति गठन गरिएको छ ।
समितिले प्रदेशभर विपद्ले पुर्‍याएको क्षतिको मूल्यांकन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन प्रदेश सरकारसमक्ष पेश गर्नेछ ।