नेपालमा पहिलो पटक एसियाली रग्बी आजदेखि हुँदै

नेपालमा पहिलो पटक एसियाली रग्बी आजदेखि हुँदै

एसियाका १६ देश सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आजबाट एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी सुरु हुँदैछ । दुई दिनसम्म हुने प्रतियोगितामा एसियाका १६ देशको सहभागिता रहनेछ ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हुन लागेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बताए ।

संघका अनुसार प्रतियोगितामा पुरुषतर्फ १४ र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्नेछ । इरानले अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको छ । पुरुषमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन् । समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह ‘डि’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई छन् ।

महिलातर्फ ७ देशलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलंका छन् । नेपालबाट महिलामा सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन् ।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ । प्रतियोगिताको पहिलो दिन ३० तथा दोस्रो दिन २० गरी जम्मा ५० खेल हुने छन् । सिनियरस्तरको एसियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको हो ।

सेभेन्स ट्रफीको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।
संघका अध्यक्ष दीपक देवकोटाले ५६ दिनको बन्द प्रशिक्षणसहित नेपाली टोलीले करिब ४ चार महिनाको तयारी गरेको उल्लेख गर्दै नेपालको लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको बताए ।