बाढीपहिरोमा परेकाहरूको उद्धारमा चुकेको सरकार राहत वितरणमा पनि चुकेको माओवादीको निष्कर्ष

बाढीपहिरोमा परेकाहरूको उद्धारमा चुकेको सरकार राहत वितरणमा पनि चुकेको माओवादीको निष्कर्ष

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेकाहरूको उद्धारमा चुकेको सरकार त्यसपछि पीडितहरूलाई राहत वितरणमा पनि चुकेको निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा सरकार उद्धार र राहत वितरणमा चुकेको निष्कर्ष निकालेको हो ।

विभागले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा मौसमबारे पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रले तत्काल उद्धारमा पहल गर्न नसकेको उल्लेख छ ।

प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले केन्द्रले संघीय राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन दिन नहुने बताए । सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने भएपछि त्यसो गर्न सरकार चुकेको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले गत शुक्रबार र शनिबार आएको बाढीपहिरोपछि सरकार नागरिकको उद्धारमा असफल भएको बताउँदै उद्धारमा विफल सरकारले अहिले राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम गर्न नसकेको टिप्पणी गरे ।

पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरूले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उनले बताए । यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दाहालले दिएका छन्।

माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरूसहितको टोलीले समस्याको पहिचान र समाधानका उपायसहित प्रतिवेदन लेखेको बताए ।

विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क राखेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।