राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण रह्यो : परराष्ट्रमन्त्री

राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण रह्यो : परराष्ट्रमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघको ७९औं महासभा र महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति महत्त्वपूर्ण र प्रभावकारी रहेको बताएकी छन् ।

शुक्रबार स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताइन् ।

मन्त्री डा. राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्रसंघीय महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसीडी) को तेस्रो सम्मेलनमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएकी हुन् ।

मन्त्री डा. राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रुपमा सुनिने र देखिने गरी उपस्थित भएको पनि जानकारी दिइन् ।

उनले भनिन्, ‘यहाँ हामीले जसरी नेपालमा यो भएन, त्यो भएन भन्ने गरेका छौं, वास्तवमा त्यस्तो अवस्था पनि होइन । तथ्य र तथ्यांकहरूमा हेर्दा नेपालको अवस्था नाजुक छैन । हामी दीगो विकास लक्ष्यको प्राप्तिमा ४७ प्रतिशतसम्म प्रगति गरेका छौं । तर कतिपय देशको त अहिले पनि १७ प्रतिशत मात्र प्रगति भएको पनि देखिएको छ । हाम्रो अवस्थालाई हामीले सकारात्मक रूपमा लिएर अघि बढ्नुपर्छ ।’

एक प्रश्नमा उनले हालै विकसित परिस्थितिका कारण लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे नेपाल सरकार जानकार रहेको, अहिलेसम्म सबै नेपाली सुरक्षित रहेका र नेपाल फर्किन चाहनेहरूका लागि दूतावासमार्फत् हेल्प डेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको जानकारी दिइन् ।

उनी क्यानडाको टोरन्टोमा गत सेप्टेम्बर १९–२० मा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएकी थिइन् । बैठकका क्रममा उनले विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।

त्यसपछि उनी संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित महासभा र समिट अफ द फ्युचरमा सहभागी भइन् । कार्यक्रमपछि कतारको दोहामा बुधबार र बिहीबार आयोजित एसीडीको तेस्रो शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर सहभागी भएकी थिइन् ।

यी महत्त्वपूर्ण बैठकहरूमा नेपालको कूटनीतिक सम्बन्धको दायरा विस्तार गर्ने, नेपालको आफ्नो चासो र हितका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने, जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेका समस्याहरू विश्व समुदायलाई सुनाउने र नेपाललाई आवश्यक सहयोगका लागि अपिल गर्ने काम गरेको पनि उनले सुनाइन् ।

नेपालमा शान्ति प्रक्रिया, महिला सशक्तीकरण एवं प्रजनन् अधिकारका क्षेत्रमा भएका प्रगतिबारे पनि उनले ती फोरमहरूमा जानकारी दिएकी थिइन् ।

आफूले यसपटक अतिकम विकसित मुलुकहरूका तर्फबाट जी२० का विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै यी मुलुकहरूलाई हाल प्राप्त सहयोग थप अभिवृद्धि गर्न अनुरोध गर्नुका साथै प्रमुख अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा अतिकम विकसित मुलुकको प्रतिनिधित्व बढाउन समेत जरुरी रहेको कुरा उठाएको उनले बताइन् ।

भूपरिवेष्ठित विकासशील देशहरूको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै यी देशहरूका विकास चुनौतीहरू सामना गर्न वैदेशिक सहयोग, वैदेशिक लगानी, वैदेशिक व्यापार प्रवर्द्धन सम्बन्धी सहयोग तथा पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय साझेदारी हुनुपर्ने विषयमा जोड दिएको जानकारी उनले दिइन् ।

पिस बिल्डिङ कमिसनको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले हालै संक्रमणकालीन न्याय सम्बन्धी संशोधित विधेयक पारित गरेको र नेपाल दीगो शान्तिका लागि सदैव प्रतिबद्ध रहेको जानकारी गराएको उनले बताइन् ।

महासभाकै दौरानमा विभिन्न फोरमहरूमा सहभागी भएर उनले महिला प्रतिनिधित्व, लैंगिक समानता र महिला सशक्तीकरणका लागि नेपालको प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन् ।

महासभाका दौरानमा इन्डोनेसिया र सर्बियाका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपाल र ती देशबीच कूटनीतिक र विशेष (अफिसियल) राहदानी वाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गरेकी थिइन् ।

यसैक्रममा उनले वासिङ्टन पुगी नेपाल र अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरेकी थिइन् । राष्ट्रसंघको साइडलाइनमा उनले राष्ट्रसंघका उपमहासचिवहरू, विभिन्न देशका मन्त्री तथा विदेशमन्त्रीहरूसँग पनि भेटवार्ता गरेकी थिइन् ।

त्यसपछि उनी कतारको दोहामा आयोजित एसीडीको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गरेकी थिइन् । सम्मेलनको ‘साइडलाइड’मा परराष्ट्रमन्त्री डा. राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सम्मेलनमा एसीडी समूहमा आबद्ध एसियाली राष्ट्रहरूका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरूको सहभागिता थियो ।