एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : नेपाली पुरुष र महिला टोली आज प्रतिस्पर्धा गर्दै

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : नेपाली पुरुष र महिला टोली आज प्रतिस्पर्धा गर्दै


काठमाण्डु-घरेलु मैदानमा जारी एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालका पुरुष टोलीले च्यालेन्ज कप र महिलाले बल च्याम्पियनसिपका लागि आज प्रतिस्पर्धा गर्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको इमिरेट्स सेभेन्स ट्रफीमा नेपाली टोलीको प्रदर्शन सुखद हुन सकेन । नेपालको महिला टोलीले उब्जेकिस्तानलाई १२–७ ले हरायो ।

नेपाली महिला टोलीले आज बल च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकासँग खेल्दै छन् । नेपाली महिला टोलीले त्यसअघि समूह ‘ए’ मा फिलिपिन्स र ग्वामसँग हार बेहोरेको थियो ।

एक जित निकाले पनि नेपाली महिला टोलीले सात राष्ट्र सहभागी ट्रफीको तेस्रो र चौथो स्थान लागि प्रतिस्पर्धा गर्न भने पाएन । नेपालले पराजित टोलीको प्रतिस्पर्धा बलतर्फ चुनौती प्रस्तुत गर्न लागेका हो । बल च्याम्पियनसिपको अर्को सेमिफाइनलमा इरान र उज्बेकिस्तानको प्रतिस्पर्धा तय छ । इरान सहभागी नभएकाले उज्बेकिस्तानले बाई पाउने भएको छ ।

यद्यपि, पुरुष टोलीले भने घरेलु मैदानमा जारी एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सुखद प्रदर्शन गर्न सकेन । नेपालको पुरुष टोलीले दुई हार सामना गर्‍यो ।

समूह ‘बी’ मा रहेको नेपाली पुरुष टोलीले पहिलो खेलमा उब्जेकिस्तानसँग २४–० र दोस्रो खेलमा बहराइनसँग २७–७ स्कोरमा हार सामना गरेको हो ।
महिला तथा पुरुष गरी कुल पाँच खेलमध्ये नेपालले शुक्रबार एउटा मात्र खेल जितेको हो ।

शुक्रबार सम्पन्न खेलपछि शीर्ष आठ वरीयताका राष्ट्रले मुख्य ट्रफी र त्योभन्दा तलका टोलीले च्यालेन्ज कपका लागि प्रतिस्पर्धा गर्दै छन् । नेपाल र बहराइन दुवैलाई पराजित गर्दै उज्वेकिस्तान समूह ‘बी’ को विजेता बन्दै मुख्य ट्रफीका लागि अर्को चरणमा प्रवेश गरेको छ ।

राउन्ड अफ आठमा बहराइनले फिलिपिन्सको सामना गर्दै छ भने उज्वेकिस्तानले जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली पुरुष टोली ‘च्यालेन्ज’ विधामा प्रवेश गरेको छ । नेपालले शनिबार कतारसँग खेल्ने छ ।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउने छ ।