बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३९ पुग्यो, घाइते १०८ जनाको शल्यक्रिया

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३९ पुग्यो, घाइते १०८ जनाको शल्यक्रिया


काठमाण्डु-बाढीपहिरोमा परी अहिलेसम्म दुई सय ३९ जनाको मृत्यु भएको ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले १८ जना अझै बेपत्ता छन् भने १७८ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

असोज १२ गते आएको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रेलगायत बागमतीमा ठुलो क्षति भएको छ । बाढीपहिरोमा परी घाइते भएकामध्ये एक सय आठजनाको शल्यक्रियाबाट उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शल्यक्रिया गरिएकामध्ये ३५ जनाको उपचार भइसकेको र ७३ जना डिस्चार्ज हुने क्रममा छन् । घाइतेमध्ये पाँच सय ६२ जनाको बहिरंग विभागमा उपचार गरिएको र एक सय आठजनालाई भर्ना गरी शल्यक्रिया नै गर्नुपरेको मन्त्रालयले जनाएको छ । बाढीपहिरोका सबै घाइतेको उपचार निःशुल्क भइरहेको मन्त्रालयले जनाएको छ ।

विपद्मा घाइते बनेका र अन्य स्वास्थ्य समस्या भएकाको उपचारका लागि सरकारले स्वास्थ्य आपतकालीन केन्द्रमार्फत उपचार गरिरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

बाढीपहिरोपछि सरुवा रोगहरूको जोखिम भएकाले सजक हुन मन्त्रालयले सबैलाई अपिल गरेको छ । मन्त्रालयले यस्तो अवस्थामा कीटजन्य, कीटाणुजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक रोगजस्ता समस्या देखिन सक्ने भएकाले जनचेतना जगाउने कार्यक्रम गर्न पनि अपिल गरेको छ । जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मी परिचालनका निम्ति आपतकालीन केन्द्रमार्फत व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।