विपद प्रभावित पालिकालाई बागमती सरकारले झण्डै ६ करोड आर्थिक सहायता दिने

विपद प्रभावित पालिकालाई बागमती सरकारले झण्डै ६ करोड आर्थिक सहायता दिने


हेटौंडा– बागमती प्रदेश सरकारले प्रदेशका ४५ वटा स्थानीय तहलाई झण्डै ६ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

शनिबार हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो साता आएको बाढीपहिरोले क्षति पुर्‍याएको ४५ वटा पालिकालाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको हो ।

प्रदेश सरकारले ३ वटा क्लष्टर बनाएर रकम उपलब्ध गराउने छ।

७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उक्त रकम सम्बन्धित पालिकाले राहत वितरणलगायत विपद्को क्षेत्रमा खर्च गर्न सक्ने गरी रकम निकासा गर्न लागिएको हो । प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषमा उक्त रकम पठाइने उनले बताए ।