युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी


मस्को – रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ शहर नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ ।

रूसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई स्वतन्त्र बनाएको रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाको खतरामा रहेको पोक्रोभस्क नजिक अवस्थित गाउँ युक्रेनी सेनाको महत्त्वपूर्ण केन्द्र हो ।

गोर्लिभ्का शहरमा खटिएका रुसी अधिकारीहरूले शनिबार युक्रेनी पक्षको गोलाबारीमा ११ जना सर्वसाधारण घाइते भएको बताएका छन् भने रूसले युक्रेनको सिमानामा रहेको बेलगोरोड, भोरोनेज र कुस्र्क क्षेत्रमा रातारात १० युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ ।

भोरोनेजका गभर्नर अलेक्जान्डर गुसेभले टेलिग्राममार्फत युक्रेनी ड्रोनले १ जना सर्वसाधारणलाई घाइते बनाएको बताए । युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी हमलामा २ जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर इभान फ्योडोरोभले टेलिग्राममार्फत जानकारी गराए ।

रूसले सन् २०२२ फेब्रुअरी मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसपछिको शृंखलाबद्ध आक्रमणपछि रूसी सेनाले सन् २०२३ देखि युक्रेनको जमिन कब्जा गरी हाल निरन्तर युद्धलाई अगाडि बढाइरहेको छ ।