विपद् प्रभावितलाई अस्पतालमा भेटेर मन्त्री पौडेलले सोधे : उपचारको पैसा तिर्नु त परेन ?

विपद् प्रभावितलाई अस्पतालमा भेटेर मन्त्री पौडेलले सोधे : उपचारको पैसा तिर्नु त परेन ?


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीले गरिरहेको कामको अवलोकन गरेका छन् ।

बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरूले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए ।

मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाए/नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै बिरामीसँग प्रश्न गरे । परिवारका ७ जना गुमाएका माइला तामाङसँग परिवारको दुःखप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमी भए भन्न आग्रह गरे ।

जवाफमा तामाङले भने, ‘उपचार त राम्रो पाइरहेको छु । पैसा तिर्नु पनि परेन । तर परिवारका कोही बचेनन्, बस्ने घर पनि छैन । सरकारले उपचारपछि जाने ठाउँ पनि खोजिदिए हुन्थ्यो ।’

जवाफमा मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने भन्दै बाँकी सहयोगका लागि पनि सकेको पहल हुने बताए ।

मन्त्री पौडेलले बिरामीको उपचारका लागि धुलिखेल अस्पतालले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिँदै अब प्रदूषित पानी तथा फोहोरका कारण संक्रमण फैलिन सक्ने भन्दै त्यसलाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे ।

स्वास्थ्य कार्यालयका अधिकारीहरू तथा स्थानीय तहका प्रमुखहरू समेतसँग मन्त्री पौडेलले भने, ‘हामीले एउटा संकट त भोग्यौं । अब विपद्पछिको स्वास्थ्य संकट आउन नदिन सजग छौं । स्वस्थ पानी प्रयोग गर्न र अरु संक्रमण फैलिन नदिन सघाउनुहोला ।’

मन्त्रालयले स्वास्थ्य संकट आउन नदिन पानीको शुद्धीकरण र सरसफाइ बढाउन अनि बिरामीको सहज उपचारका लागि आवश्यक हरसम्भव उपाय अपनाउने भन्दै उनले सचेतना फैलाउने काममा तीनै तह मिलेर जान सकिए मात्र सम्भव हुने बताए ।

मन्त्री पौडेलले प्रभावित बेथानचोक तथा पनौती बजारको अवलोकन गर्दै स्वास्थ्यकर्मीहरूले पुर्‍याएका सेवाको प्रशंसा गरे । पनौती–१२ भूमिडाँडा कलातीमा पहिरोमा भत्किएको स्वास्थ्य चौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सेवाका लागि धन्यवाद दिँदै मन्त्री पौडेलले नागरिकलाई संक्रामक रोग लाग्न नदिन पानीको शुद्धीकरण र सरसफाइका लागि चाहिने सामग्री आवश्यकताअनुसार उपलब्ध गराउने बताए । ‘अरु पनि सहयोग चाहिए भन्नुहोला मन्त्रालय तयार छ,’ उनले भने ।

मन्त्री पौडेलले स्थानीयसँग अन्तर्क्रिया गर्दै विपद्पछिको राहतमा सरकार साथ रहेको बताए । उनले पानी उमालेर वा शुद्धिकरण गरेर मात्र सेवन गर्न आग्रह गर्दै भने, ‘तपाईंहरूलाई चाहिने सामग्री उपलब्ध गराएका छौं । नपाए स्वास्थ्य चौकीमा माग्नुहोला ।’