पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग ३ दिनपछि खुल्यो

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग ३ दिनपछि खुल्यो


खोटाङ – अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग ३ दिनपछि खुलाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरेर तथा स्थानीय वासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि शनिबार खुलाइएको हो ।

हलेसी–जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौंठेखोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए । ‘अवरुद्ध सडक खुलाउन दिनरात नभनी २ वटा डोजर प्रयोग गरेका थियौं । ३ दिन लगाएर पहिरो पन्छाइएपछि रोकिएका सबै गाडी पार गराइएको छ,’ उनले भने, ‘पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि गाडीमा सवार १ हजारभन्दा बढी यात्रु अलपत्र पर्नुभएको थियो । पहिरो पन्छाएर सडक खेलेसँगै अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।’

सडक अवरुद्ध भएपछि राजधानी काठमाण्डु तथा तराईका विभिज्ज जिल्लाबाट खोटाङ आएका साना तथा ठूला यातायातका सवारीसाधन (गाडी) जयरामघाट, डौंठेखेला र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटार लगायतका ठाउँमा रोकिएका थिए । पहिरोले सडक अवरुद्ध भएर बीच सडकमा गाडी रोकिएपछि त्यसमा सवार १ हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए ।

दिक्तेल–हलेसी–जयरामघाट हुँदै राजधानी काठमाण्डु तथा तराईका जिल्ला जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएपछि विकल्पको रूपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडकलाई निर्वाधरुपमा सञ्चालन गर्ने प्रयास गरिएको छ । त्यसका लागि प्रतिनिधिसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेर मर्मत कार्य शुरु गरिएको छ ।

मध्यपहाडी लोकमार्ग बाहेक जिल्लाका सबै स्थानीय तहसँग जोडिएका अन्य सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । दशैंतिहार मान्न राजधानी काठमाण्डु तथा तराईका विभिन्न शहरबाट घर फर्किएका स्थानीय वासिन्दालाई सहज रूपमा घरसम्म पुग्ने वातावरण मिलाउन जिल्लाका १० वटै स्थानीय तहले अवरुद्ध सडक मर्मत सुरु गरे पनि अहिलेसम्म सम्भव भएको छैन ।

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा ल्याउन १५ दिनअघि पहल थालिए पनि अविरल वर्षाका कारण सम्भव नभएको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । दशैंतिहारअघि सबै ग्रामीण सडक सञ्चालनमा ल्याउन सम्बन्धित स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति समेतले आग्रह गरेको थियो ।

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा नआएपछि दशैंतिहार मान्न विभिन्न शहरबाट घर फर्किएका स्थानीय वासिन्दा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घण्टौं पैदल यात्रा गर्न बाध्य भएका छन् । ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि जिल्लाका यातायात व्यवसायीसमेत मारमा परेका छन् ।

ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि अधिकांश यातायातका सवारी साधन दिक्तेल बजारमै थन्क्याएर राखिएका छन् । कमाइ हुने समय समेतमा अवरुद्ध सडकका कारण यातायातका सवारी साधन थन्क्याएर राख्नुपर्दा व्यवसायीलाई ठूलो क्षति भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।