भारतीय सेनाका मेजर जनरल देवगन ६ दिन भ्रमण पूरा गरी स्वदेश फिर्ता

भारतीय सेनाका मेजर जनरल देवगन ६ दिन भ्रमण पूरा गरी स्वदेश फिर्ता


काठमाण्डु – भारतीय सेनाको गोर्खा राइफल्सका मेजर जनरल चरणजीत सिंह देवगन ६ दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

औपचारिक भ्रमणका लागि असोज १४ गते काठमाण्डु आएका उनलाई नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपालमा रहँदा उनले पोखरा भ्रमण गर्दै भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरे । नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरेका काठमाण्डुस्थित भारतीय दूतावासले जनाएको छ ।

नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र २ देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गर्न भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरे ।

 मेजर जनरल देवगनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरूको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरूको प्रशंसा गरेका छन् ।