राहत कोषबाट बाढीपहिरो पीडितलाई सहयोगका लागि पहल गर्छु : अध्यक्ष नेपाल

राहत कोषबाट बाढीपहिरो पीडितलाई सहयोगका लागि पहल गर्छु : अध्यक्ष नेपाल


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारसँग भेटघाट गरी राज्यको राहत कोषबाट सहयोगका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमाएका ७ जनाका परिवारसँग भेटघाट गरी उनले राहतको पहल गर्ने बताए ।

अध्यक्ष नेपालले बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्नाका साथै मृतकप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गरे । त्यसअवसरमा उनले नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई ५०/५० हजार आर्थिक सहयोग हस्तान्तरण गरे ।

कार्यक्रममा नगर प्रमुख टोकबहादुर वाइवाले पीडित परिवारलाई तत्काल आवश्यक खाद्यन्न, भाँडाकँुडा वितरण गर्नाका साथै दुःखको घडीमा नगरपालिकाले प्रभावित परिवारलाई सक्दो सहयोग गर्ने बताए ।

काभ्रेमा विपद्मा परी ७५ जनाको मृत्यु हुनुका साथै विभिन्न भागमा धेरै भौतिक क्षति भएको छ । यहाँका भुम्लु, रोशी, बेथानचोक, तिमाल, चौरी गाउँँपालिकामा सवारीसाधन, सञ्चार, विद्युत्, खानेपानी लगायत अत्यावश्यक सेवा समेत अवरुद्ध छ ।