एनपिएलको अक्सन आज हुँदै

एनपिएलको अक्सन आज हुँदै


काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनमा १४२ खेलाडीलाई सहभागी गराउँदैछ । अक्सनबाट प्रत्येक टीमले १० खेलाडी किन्नेछन् । १० खेलाडीका लागि प्रत्येक टोलीले अधिकतम ९० लाख खर्च गर्न पाउनेछन् । त्यसमा पनि ग्रेड ‘ए’ र ‘सी’ का ३–३ र ग्रेड ‘बी’ का ४ खेलाडी किन्नुपर्ने हुन्छ ।

ग्रेड ‘ए’का खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मुल्य १५ लाख तोकिएको छ । ग्रेड ‘बी’ का खेलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम मूल्य १० लाख राखिएको छ ।

त्यस्तै ग्रेड ‘सी’ का खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निर्धारण गरिएको छ । कुनै पनि ग्रेडमा अधिकतम मूल्यमा दुई वा सोभन्दा बढी टोलीले इच्छा व्यक्त गरेको खण्डमा भने गोला प्रथाबाट टोलीको टुंगो लाग्नेछ ।

ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ बाट ७७ खेलाडी अक्सनका लागी छनोट भएका छन् । ग्रेड ‘ए’ र ‘सी’ बाट समान २४–२४ र ग्रेड ‘बी’ बाट ३२ खेलाडी बिक्री हुनेछन् ।

अक्सन दिउसो २ बजे काठमाडौंमा हुने छ । क्यानका सचिव पारस खड्काका अनुसार १४२ जना खेलाडीकै नाम एउटै बट्टामा राखिनेछ । जुन नाम आउँछ, सोहिअनुसार किनबेच सुरु हुन्छ ।

अक्सनबाट १० खेलाडी छनोट हुने एक टोलीमा भने कुल १६ खेलाडी हुनेछन् । एक टोलीले अधिकतम ४ खेलाडी विदेशी राख्न पाउने र त्यसमध्ये एक खेलाडी एसोसिएट राष्ट्र हुनुपर्नेछ ।

एक मार्की खेलाडी र अन्य एक खेलाडी ट्यालेन्ट हन्टबाट छनोट गरिनेछ । मार्की खेलाडी यसअघि नै तय भइसक्दा विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट भने स्वयं टोलीले गर्नेछन् ।

एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

एनपीएलमा पोखरा, काठमाडौं, चितवन, विराटनगर, लुम्बिनी, जनकपुर, कर्णाली र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टोली सहभागी छन् ।