काठमाण्डु-इजरायलले हमासमाथि आक्रमण गरेको सोमवार एक वर्ष भएको छ । गत वर्ष ७ अक्टुबरकै दिन हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार १ सय ३९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढीलाई बन्धक बनाएको थियो । त्यसयता पनि उनीहरूबीच युद्ध जारी छ ।
हमासले गरेको आक्रमणको बदला लिन इजरायलले सुरु गरेको आक्रमणमा हालसम्म ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने गाजामाथि इजरायली आक्रमण अझै पनि जारी नै छ ।
एक वर्षको अवधिमा इजरायलले हमासका प्रमुख इस्माइल हानिया र हिजबुल्लाहका प्रमुख सयैद हसन नसरल्लाहसहित अन्य शीर्ष नेताहरूको पनि हत्या गरेको छ ।
हमासलाई युद्धमा सहयोग गर्ने र समर्थन गर्नेमाथि पनि पछिल्लो समय इजरायलले आक्रमण सुरु गरेको छ । इजरायलले हमास र हिजबुल्लाहको अन्त्य नभएसम्म युद्ध जारी रहने बताएको छ ।
पछिल्लो एक वर्षको अवधिमा बन्धक बनाइएकाहरूको रिहाई र युद्ध अन्त्यका लागि विभिन्न चरणमा वार्ता भएपनि ठोस निस्कर्ष भने निकस्न सकेको छैन ।
गत अप्रिलमा एक साताका लागि अस्थायी युद्धविराम हुँदा दुबै तर्फका केही नागरिकलाई रिहा गरिएको थियो । तर, त्यसपछि पुनः युद्धविराम र बन्धक रिहाइका लागि पहल भएपनि खासै निस्कर्ष निस्कन सकेको छैन ।
बेलायत, जर्मनी र फ्रान्सको चासो
इजरायल–हमास युद्ध तत्काल रोक्न युद्ध विराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले बताएका छन् । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले इजरायल र हमासबीचको एक वर्ष लामो द्वन्द्व अन्त्य गर्न सबै पक्ष संयमित बन्नुपर्ने र गाजामा युद्ध विराम गरिनुपर्ने बताएका छन् ।
गाजा युद्धको प्रभावले बेलायतमा पनि सामुदायिक सम्बन्धमा असर पारेको उनले बताए । प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा इजरायलविरुद्ध गरेको अकल्पनीय आक्रमणको एक वर्ष पुग्नुभन्दा एक दिन अगाडि आफ्नो धारणा राख्दै स्टार्मरले सन्डे टाइम्समा लेखेका छन्, ‘यसले हाम्रो आफ्नै समुदायमा पनि विवाद सिर्जना गरेको छ ।’
पछिल्लो दुई हप्तामा लेबनानमा इजरायलले हमासको इरान समर्थित लडाकू समूह हिजबुल्लाहविरुद्ध गरेको आक्रमण र इरानले इजरायलमाथि प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्रका कारण द्वन्द्व थप चर्किएको छ ।
हमासको आक्रमणको एक वर्षको पूर्वसन्ध्यामा लन्डनलगायत विश्वभरि युद्ध विराम गर्न दबाब दिन विश्वका अधिकांश प्रमुख सहरहरूमा प्रदर्शन गरिएको छ । पछिल्लो एक वर्षमा बेलायतमा यहुदी र मुस्लिम समुदायविरुद्ध ‘घृणित हिंसा’ बढेको भन्दै स्टार्मरले भनेका छन् ।
जर्मनी गाजा युद्धको सोमबार एक वर्ष पुग्ने र यसको पूर्वसन्ध्यामा आइतबार फेरि जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युद्ध विरामको आह्वान गरेका छन् ।
यसअघि, शनिबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायललाई गाजामा प्रयोग गर्नका लागि हतियार वितरणमा रोक लगाउन आह्वान गरेका थिए । म्याक्रोँले लेबनानमा स्थल कारबाहीका लागि नेतन्याहूले सेना पठाउने निर्णयको पनि आलोचना गरेका थिए ।
शताब्दी पुरानो तुस
हमास–इजरायलबीच अहिले पनि लडाईं जारी छ । इजरायल र हमासबीचको यो युद्ध नयाँ भने होइन । उनीहरूबीच सन् १९९३ यता बारम्बार युद्ध हुँदै आएको छ । शताब्दी पुरानो कारणले इजरायल र प्यालेस्टाइनको सशस्त्र समूहबीच बारम्बार युद्ध चल्छ ।
मध्यपूर्वमा ओट्टोमान साम्राज्य थियो । त्यसका सम्राटलाई पहिलो विश्वयुद्धमा पराजित गर्दै बेलायतले प्यालेस्टाइन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लियो ।
त्यसताका त्यस क्षेत्रमा अरबीहरुको बाहुल्य थियो भने यहुदीको संख्या निकै न्यून । बेलायतले यहुदीका लागि प्यालेस्टाइन क्षेत्रमा छुट्टै राष्ट्रिय आवास बनायो । बेलायतको यो कदमसँगै त्यहाँ दुई समुदायबीच तनाव सुरु भएको हो ।
सन् १९२० देखि १९५० को बीचमा त्यहाँ यहुदीहरू आउने क्रम बढ्यो । दोस्रो विश्वयुद्धको नरसंहारपछि युरोपमा उत्पीडनमा परेका यहुदीहरु मातृभूमि खोज्दै त्यहाँ पुगे ।
सन् १९४७ मा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई यहुदी र अरबी राज्य बनाएर दुई भागमा विभाजन गर्ने र जेरुसेलमलाई यहुदी र अरबीमा राज्यमा नराखी छुट्टै अन्तर्राष्ट्रिय शहर बनाउने प्रस्तावमा मतदान भयो । यो प्रस्तावको समर्थनमा यहुदी नेताहरु थिए । तर अरबी पक्ष यसको विपक्षमा उभियो ।
प्रस्तावको विपक्षमा रहेका अरबी समूहले सन् १९४८, ६ मार्चमा यहुदी लडाकुविरुद्ध हमला गरे । यो नै अरबी र यहुदीबीच द्वन्द्वको पहिलो सुरुवात थियो ।
सन् १९४८ मा बेलायतीहरुले समस्या समाधान गर्न नसकेपछि यहुदीहरुले इजरायल राज्य बनाउने घोषणा गरे । प्यालेस्टाइनहरुले त्यसको प्रतिरोध गरे । यसको विरोधमा छिमेकी राष्ट्रहरुबाट समेत प्यालेस्टाइनको हमलामा सहयोग भयो । हमला सुरु भएपछि हजारौं प्यालेस्टाइनहरु आफ्नो भूमि छोडेर भागे ।
प्यालेस्टाइनले पूर्वी जेरूसेलम प्यालेस्टाइनको भविष्यको राजधानी रहेको दावा गर्छ । जेरूसेलमलाई अमेरिकाले मात्रै इजरायलको राजधीनका रुपमा मान्छ ।
५० वर्ष यतादेखि हालसम्म त्यहाँ ६ लाख भन्दा बढी यहुदीको बसोबास छ । अन्तर्राष्ट्रिय कानुन अनुसार विवादित त्यस्ता इलाकामा बस्ती बसाउन पाइँदैन । राष्ट्रसंघको सुरक्षा परिषदमा यस विषयमा सवाल उठे पनि इजरायलले यस्ता प्रश्नलाई अस्वीकार गर्दै आएको छ ।
हमास प्यालेस्टाइनको सबैभन्दा ठूलो सशस्त्र समूह हो । इस्लाममा हमासको अर्थ प्रतिरोधको आन्दोलन हुन्छ । यो समूह सन् १९८८ मा खडा भएको थियो ।
इजरायलले वेस्टबैंक तथा गाजा स्ट्रिपमा कब्जा गरेपछि त्यसको प्रतिरोधका लागि यो समूह खडा भएको हो । इजरायललाई ध्वस्त बनाउनु नै यो समूहको प्रतिबद्धता हो ।
हमास दुईवटा उद्देश्यका साथ गठन गरिएको थियो । पहिलो– इजरायल विरुद्ध सशस्त्र संघर्ष गर्न । र दोस्रो– सामाजिक कल्याणका कार्यक्रम सञ्चालन गर्न ।
हमासले गाजामा आफ्नो शक्ति फैलाएसँगै त्यस समूहले इजरायलसँगै चारवटा द्वन्द्वको सामना गरेको छ । इजिप्टले पनि हमासलाई एक्ल्याउन र उसको हमला रोक्नका लागि कडा नाकाबन्दी गर्दै इजरायलको साथ दिइरहेको छ ।
हमासलाई पश्चिमा गठबन्धनमा आवद्ध मुलुकले आतंककारी भन्छन् । उनीहरु आफूलाई स्वतन्त्रताको लागि लड्ने समूह बताउँछन् । हमासको वडापत्रले प्यालेस्टाइनलाई वर्तमान इजरायलसम्म मानेको छ । त्यति मात्र नभएर समग्र भूमि इस्लामिक हुने र यहुदी पक्षसँग भएका कुनै पनि शान्ति सम्झौता नमान्ने त्यसमा लेखिएको छ ।
सन् १९८८ मा बनाइएको त्यस वडापत्र यहुदीविरुद्ध निकै निर्मम थियो । सन् २०१७ मा आएर त्यस वडापत्रको भाषा केही नरम भयो ।
इजरायलविरुद्ध हमास कठोर रहेकाले उसले पश्चिमा र त्यसका सहयोगी राष्ट्रबाट आर्थिकसँगै कूटनीतिक प्रतिबन्ध व्यहोरिरहेको छ । सन् २००७ मा हमासले गाजाबाट फताहका सशस्त्र समूहलाई धपाएसँगै इजरायलले नाकाबन्दी थप कडा पारेको थियो।
प्रतिक्रिया