काठमाण्डु– नेपाल प्रहरी अस्पतालमा प्रमुख रिक्त भएको साढे दुई महिना पुग्दा पनि नयाँ प्रमुख नियुक्त भएका छैनन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर मातहतमा रहने महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालकी प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजीपी) डा.आशा सिंह उमेर हदका कारण अवकाशमा गएकी थिइन् । त्यसपछि अस्पताल अहिले निमित्तको भरमा चलिरहेको छ ।
निमित्त प्रमुखको जिम्मेवारी अस्पतालमा रहेका ५ डिआईजीपीमध्यका सिनियर डा.सुन्दरप्रसाद होजुले सम्हालिरहेका छन् । तर, लामो समय हुँदासम्म मेडिकल डाइरेक्टर नियुक्रि प्रक्रिया सुरु गरिएको छैन ।
प्रहरीमा बढुवा सिफारिसका लागि गृहसचिवको नेतृत्वमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने बढुवा समितिको व्यवस्था छ । तैपनि रिक्त भएको साढे दुई महिना हुँदासम्म कसैको धयान यतातर्फ गएको छैन ।
प्राविधिक प्रहरीतर्फको बढुवा प्राथमिकतामा नपर्दा यसअघि पनि दुई एसएससपी असार १३ गते अनिवार्य अवकाशमा जान बाध्य भएका थिए । प्रहरीमा एसएसपीको पदावधि ६ वर्ष हुने व्यवस्था अनुरुप २२ असार २०७५ मा बढुवा भएका प्रहरी अस्पतालका दुई एसएसपी डा. दिपक श्रेष्ठ र डा.सुवास आचार्य पदावधिका कारण अनिवार्य अवकाशमा गएका थिए ।
अहिले कार्यालय प्रमुख हुनका लागि ३ प्रतिष्पर्धी डिआइजीपीहरु होजु,डा।सञ्जयविक्रम श्रेष्ठ र डा. गोपेशकुमार ठाकुरले प्रयास गरिरहेका छन् । उनीहरूले गृहमन्त्री रमेश लेखक र आइजीपी वसन्तबहादुर कुँवरसँग छुट्टाछुट्टै भेटेर अस्पताल प्रमुखमा बढुवा गर्न आग्रह गरिसकेका छन् ।
२०५९ सालमा प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट सेवामा प्रवेश गरेका होजु, श्रेष्ठ र ठाकुर अस्पतालका विभागीय प्रमुख पनि हुन् ।
सर्वोच्च अदालतले ९० दिनभन्दा बढी पद रिक्त राख्न नहुने फैसला यसअघि नै गरिसकेकाले अब कम्तिमा १५ दिनभित्र प्रहरी अस्पतालले प्रमुख पाइसक्नुपर्ने हुन्छ । तयसको तयारी भने गृहमन्त्रालयले गरेको देखिन्न ।
प्रतिक्रिया