राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको भेटवार्ता


काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभले शिष्टाचार भेट गरेका छन् ।

राजदूत नोभिकोभले मंगलबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटमा २ देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष दाहालले नेपाल–रुस सम्बन्ध विगतदेखि नै सुमधुर रहेको भन्दै जनस्तरको सम्बन्धले २ देशको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । नेपालको संघीय संसदमा नेपाल–रुस संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै उनले मैत्री समूहले २ देशबीचको संसदीय सम्बन्ध, अनुभव आदानप्रदान र भ्रमण आदानप्रदान गर्न सहज हुने बताए ।

नेपाली विद्यार्थीलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको संख्या वृद्धि गर्न आग्रह गर्नुका साथै अध्यक्ष दाहालले काठमाण्डु–मस्को सिधा हवाइ सुविधा सुचारु गर्न पहल गर्न आग्रह गरे ।

नेपालको कृषि, प्रविधि र ऊर्जाको क्षेत्रमा लगानी गर्न रुसी लगानीकर्ताहरूलाई प्रोत्साहित गर्न आग्रह गर्दै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्द्धन गरी रुसी नागरिकहरूलाई नेपाल भ्रमणको वातावरण बताउन पनि अनुरोध गरे ।

रुस–युक्रेन युद्ध भएपछि नेपाली नागरिकहरू विभिन्न माध्यमबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रह स्मरण गराएका थिए ।

सो अवसरमा राजदूत नोभिकोभले २ देशबीचको सम्बन्ध सुमधुर रहेको भन्दै आपसी हित, सहयोग आदानप्रदान र सहकार्य बढाउँदै जानुपर्ने बताए ।

नेपालमा पर्यटनको सम्भावना धेरै राम्रो भएको उल्लेख गर्दै उनले रुसले लुम्बिनीमा बौद्ध गुम्बा निर्माण गरिरहेको र परियोजना सम्पन्न भएपछि रुसका धार्मिक पर्यटकहरूको संख्या वृद्धि हुने बताए ।

नेपालले जलविद्युत् उत्पादनबाट राम्रो आम्दानी गर्नसक्ने भन्दै राजदूत नाभिकोभले रुसका लगानीकर्ताहरू नेपालमा विद्युत् उत्पादनमा लगानी गर्न इच्छुक रहेको बताए । सो अवसरमा उनले जलविद्युत् उत्पादन, हवाइ सेवा विस्तार, अन्तरिक्षमा संयुक्त उडान, प्रविधि लगायतका क्षेत्रमा रुसले नेपालमा काम गर्ने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउन नेपाल सरकारले पहल गरिदिन आग्रह गरे ।

नेपाली विद्यार्थीहरूलाई रुसमा छात्रवृत्तिको व्यवस्था गरिएको भन्दै राजदूत नोभिकोभले हाल ४२ जनाले पूर्ण छात्रवृत्तिमा पढिरहेको बताए । केही समयमै छात्रवृत्तिको संख्या बढाएर २०० सम्म पुर्‍याउने योजना रहेको उल्लेख गर्दै उनले त्यसले २ देशबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने बताए ।

नेपाल–मस्को सिधा हवाइ सेवा विस्तारका लागि आफूले पहल गरिरहेको भन्दै राजदूत नोभिकोभले नेपाल सरकारले थप पहल गरे सिधा हवाइ सेवा शुरु गर्न गाह्रो विषय नभएको बताए ।