मेलम्चीको पानी काठमाण्डुमा वितरण, मन्त्री यादवद्वारा शुभारम्भ

मेलम्चीको पानी काठमाण्डुमा वितरण, मन्त्री यादवद्वारा शुभारम्भ


काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाण्डुको सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण शुभारम्भ गरे ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रशाद लामिछानेले बताए ।

उनले भने, ‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौं । अहिले यहाँबाट केयूकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ ।’

मेलम्चीको पानी अहिले केयूकेएलमा आइसकेकाले अब काठमाण्डु उपत्यकावासीका धाराधारा पानी वितरण सुरु गरिने केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए । उनले भने, ‘मेलम्चीको शुद्ध पानी आइपुगेको छ, अब केही समयमै नागरिकका धाराधारामा पठाउछौं ।’

खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाण्डुमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । दशैंअगाडि काठमाण्डुवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादव सहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका संघर्ष समितिसँग वार्ता गरेको थियो ।

वार्तापछि बाढी पीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाण्डु उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।

बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि केयूकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करीब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।

विक्रम संवत् २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाण्डु उपत्यकामा त्यहाँको पानी वितरण हुन सकेको छैन । काठमाण्डुमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा ८०० मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ ।

दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइनेछ । ३ चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाण्डु ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन ।

मेलम्ची खानेपानीका लागि काठमाण्डु उपत्यकामा १ हजार ७०० किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानी पोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७६० किलोमिटरमध्ये करीब ७०० किलोमिटर पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।

आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।