प्रधानसेनापति सिग्देलबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण

प्रधानसेनापति सिग्देलबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण


काठमाण्डु – नेपालीहरूको महान् पर्व बडादशैं २०८१ को पावन अवसरमा नेपाली सेनाद्वारा असोज २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार अन्तिम निरीक्षण गरेका छन् ।

निरीक्षण पश्चात् प्रधानसेनापतिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इन्जिनीयर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गरेका छन् । सोही अवसरमा उनले विशेष फौज बाहिनीअन्तर्गत यस वर्ष सञ्चालित युद्धकार्य तथा पेशागत प्रतियोगिताको नेभिगेसन र वेस्ट स्नाइपर दुवै विधामा प्रथम हुने महावीर शौर्य गण (रेन्जर) लाई पुरस्कार वितरण गरेका छन् ।

महाशिवरात्री तथा नेपाली सेना दिवस समारोह २०८० को उपलक्ष्यमा नेपाली सेनाले लोपोन्मुख थाली नाच बृहत् रूपमा प्रदर्शन गरी विश्व कीर्तिमान कायम गरेबापत वर्ल्ड बूक अफ रेकर्डस्को तर्फबाट नेपाली सेनालाई ओरिजिनल सर्टिफिकेट हस्तान्तरण गरिएको थियो भने प्रधानसेनापतिले वर्ल्ड बूक अफ रेकर्डस्का नेपालस्थित निर्णायकहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रमका दौरान प्रधानसेनापति सिग्देलले विकट भौगोलिक अवस्था, जटिल मौसमी विविधता र चुनौतीपूर्ण वातावरणमा रही प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी पदक प्राप्त गर्ने सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गरे ।

यस वर्ष १ हजार ५१३ जना सकलदर्जाले पदक प्राप्त गरेका छन् । प्रधानसेनापतिले नेपाली सेनामा कार्यरत रही विशिष्ट योगदान पुर्‍याई मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । ४२ जना पदिकहरू मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका छन् ।

फूलपाती बढाई समारोह २०८१ को अन्तिम निरीक्षण कार्यक्रममा रथीवृन्द लगायत सकलदर्जा, परिवारजन र सर्वसाधारणको उपस्थिति थियो । यससँगै फूलपाती बढाई समारोह २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ ।