काठमाण्डु उपत्यकाबाट बाहिरियो मनसुन

काठमाण्डु उपत्यकाबाट बाहिरियो मनसुन


काठमाण्डु – यस वर्षको मनसुन मंगलबार काठमाण्डु उपत्यकाबाट बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भूभागका साथै काठमाण्डु उपत्यकाबाट पनि बाहिरिएको छ ।

महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ ।

हाल कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

मंगलबार कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । मंगलबार कोशी प्रदेश र बागमती प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भएको पनि जनाइएको छ ।

नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो । यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो । यस वर्षको मनसुनले ठूलो जनधनको क्षति गराएको छ ।