काठमाण्डु-यस वर्षको मनसुन काठमाडौं उपत्यकाबाट बाहिरिएको छ ।
यस वर्षको मनसुन कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागका साथै काठमाण्डु उपत्यकाबाट पनि बाहिरिएको छ ।
बागमती प्रदेशको पश्चिमी भूभाग र मधेश प्रदेशका पश्चिमी भूभागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट असोज २० गते यस वर्षको मनसुन बहिर्गमन भएको थियो । यस वर्षको मनसुन गत जेठ २८ गते नेपालमा भित्रिएको थियो । यस वर्षको मनसुनले ठूलो जनधनको क्षति गराएको छ ।
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ ।
हाल कोशी प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया