विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छाैं : मन्त्री पौडेल

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छाैं : मन्त्री पौडेल


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पुर्‍याउन सक्दो पहल गर्ने बताएका छन् ।

स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उनले आग्रह गरे ।

विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवयश्यक सामग्री मन्त्रालयले पठाएको उल्लेख गरे । ‘विपद्पछि पानीको स्रोतमा हुने प्रदूषण र फोहरका कारण पखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेंगु र जापानिज इन्सेफ्लाइटिसजस्ता संंक्रमणबाट पीडित हुन नपरोस् । हामीले सचेतना र आवश्यक शुद्धीकरण तथा सरसफाइका सामग्री विपद् प्रभावित क्षेत्रमा पठाएका छौं,’ उनले भने ।
सम्बन्धित ठाउँमा ती सामग्री पुगे/नपुगेकोबारे स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपतकालीन सहायता नम्बर १११५ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

देश प्राकृतिक विपद्को चपेटामा परेका कारण नागरिकले कष्ट भोगिरहनुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले बाढी पहिरोका कारण सिर्जित संकटको चुनौतीबाट पार पाइ नसकेको बताए । ‘हामीले विपद्का समयमा घाइतेको निःशुल्क उपचारको प्रयत्न गर्‍यौं । तर अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौं । नागरिकको स्वास्थ्यको रक्षा गर्न आवश्यक हरेक प्रयत्नमा हामी तपाईंको साथमा छौं,’ उनले भने ।

तीनै तहका सरकारको सहकार्यमा स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न संघीय सरकारले गरिरहेको र कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म तथा संक्रामक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन उनले अनुरोध गरे । मन्त्री पौडेलले विपद्को घडीमा तमाम कठिनाइबीच आम नागरिकको सेवामा तल्लीन भएको भन्दै स्वास्थ्यकर्मी र स्वयंसेवीलाई धन्यवाद दिए ।