ग्लोबल आईएमई र माइजोईबीच सम्झौता, यूएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आईएमई र माइजोईबीच सम्झौता, यूएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने


काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच यूएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूले माइ जोईको रेमिटेन्स एपबाट सहज रूपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।

उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइ जोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रहेको र माइ जोईसँग साझेदारी गर्न पाउँदा बैंकले उत्साहित भएको बताए ।

माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलिले यूएईमा रहेका नेपाली कामदारहरूले आफ्ना प्रियजनलाई पैसा पठाउने द्रूत, सुविधाजनक र सुरक्षित तरिकामा पहुँच सुनिश्चित गर्दै ग्लोबल आईएमई बैंकसँग यात्रा सुरु गर्न पाउँदा माइ जोई रोमाञ्चित रहेको जानकारी गराए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ । यूएईमै मुख्यालय रहेका माइजोईको दृष्टिकोण विश्वव्यापी रूपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न असक्षम प्रत्येक व्यक्तिलाई वित्तीय समावेशीकरण गर्नु हो ।

यसरी यूएईबाट ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आईएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू वा नेपालभर रहेको आईएमई लिमिटेडका ५० हजारभन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिनेछ ।

सम्झौताअनुसार संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आईएमई बैंक तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

ग्लोबल आईएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका २ विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।