पिएलए दिवसका दिन उर्जामन्त्री पुनले भने – जनयुद्धबाट आर्जित सम्पत्तिको रक्षा गरौं

पिएलए दिवसका दिन उर्जामन्त्री पुनले भने – जनयुद्धबाट आर्जित सम्पत्तिको रक्षा गरौं


रोल्पा – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले जनयुद्धले स्थापित गरेका मूल्य मान्यतालाई नयाँ संस्कारको रुपमा विकास गर्नुपर्ने बताएका छन् । जनयुद्धका समयमा आर्जित विभिन्न सम्पत्तिको संरक्षणमा सचेत नागरिकले पहल गर्नुपर्ने भन्दै ऐतिहासिक राक्सेबाङ मेलाको पनि त्यही महत्व रहेको बताए ।

शनिबार परिवर्तन गाउँपालिकाको वडा नं. ४ पाछाबाङ राक्सेबाङमा लाग्ने भव्य मेलालाई सम्बोधन गर्दै उर्जामन्त्री वर्षमान पुनले जनमुक्ति सेना स्थापना दिवसको सन्दर्भ पारेर लगाइने मेलाको ऐतिहासिक महत्व रहेको बताए । मंसिर ८ गते नै तत्कालीन माओवादीले आफ्नो फौंजी दस्ताको रुपमा जनमुक्ति सेना नेपालको औपचारिक घोषणा गरेको थियो ।

मन्त्री पुनले शनिबार राक्सेबाङमा आयोजित भव्य सभालाई सम्बोधन गर्दै युवा पंक्तिले देश निर्माणका लागि श्रम खर्चिनुपर्ने बताए । विविधतापूर्व संस्कार संस्कृति, खेलकुद, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा युवाहरुले अग्रसरता देखाउनुपर्ने भन्दै मन्त्री पुनले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न युवा शक्तिको बलियो साथ रहने विश्वास व्यक्त गरे ।

स्थानीय जलजला युवा क्लव पाछाबाङको वार्षिकोत्सवको सन्दर्भमा प्रमुख अतिथिका रुपमा राक्सेबाङ पुगेका मन्त्री पुनले स्थानीय विभिन्न समूहद्वारा प्रस्तुत झाँकीहरुको समेत अवलोकन गरेका थिए । काठमाडौंमा विप्लव नेतृत्वको नेकपाले जनसभाको आयोजना गरिरहँदा रोल्पाका अभिभावकीय नेता वर्षमान पुन भने जनयुद्धको सम्झना गर्न रोल्पाली नेता कार्यकर्तामाझ पुगेका हुन् ।

उदघाटन कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेशसभा सदस्य दिपेन्द्र पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, लगायतको उपस्थिति रहेको थियो। क्लवले खुल्ला भलिबलसहित विभिन्न आधादर्जन खेलकुदको समेत आयोजना गरेको छ ।