उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्तिपत्र प्रदान

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्तिपत्र प्रदान


काठमाण्डु – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरूलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरूलाई नियुक्तिपत्र प्रदान गर्दै निजी क्षेत्र, विज्ञहरू र सरोकारवालासँग छलफल गरी अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउने सुझाव आयोगबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।

सुझावलाई सरकारले कार्यान्वयन गर्ने उनले बताए । आयोगका अध्यक्ष रामेश्वर खनालले सबै पक्षसँग परामर्श गरी सरकार, मन्त्री, सरोकारवाला र जनताले अपेक्षा गरे अनुसारको प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । आयोगका पदाधिकारीहरूले अर्थतन्त्रको समस्या, चुनौती पहिल्याई ‘पोलिसी डिपार्चर’ गर्ने किसिमको प्रतिवेदन तयार पार्ने बताए ।

गत सोमबार सरकारले अर्थतन्त्रमा सुधारका लागि सुझाव दिन खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेको आयोग गठन गरेको थियो । आयोगको कार्यकाल ६ महिनाको तोकिएको छ ।